सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपालले भने, ‘राजतन्त्र इतिहास भइसक्यो, अब फर्किने सम्भावना छैन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।

‘गणतन्त्रका विरुद्धमा हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ । केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन,’ उनले भने । उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरेका हुन् ।

उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’ उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नुपर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन,’ उनले भने ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १७:२३

लोकप्रिय