नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र गत महाधिवेशनमा उनीसँग प्रतिस्पर्धा गरेका भीम रावलबीचको द्वन्द्वले सुदूरपश्चिमका कार्यकर्तालाई चेपुवामा परेका छन् । पछिल्लो समय रावलले गतिविधि बढाउँदा जिल्ला तहका नेता तथा कार्यकर्तालाई अप्ठेरो परेको हो । एमालेको १०औँ महाधिवेशनअघिदेखि नै रावल र ओलीबीच वैमनश्यता छ ।
१० औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन जोडबल गरेका अध्यक्ष ओली अन्ततः रावलकै अडानका कारण चुनाव गराउने अवस्थामा पुगेका थिए । पार्टीमा बलियो पकड बनाएका ओलीले फराकिलो मतान्तरले रावललाई पराजित गरे । यसपछि उनीहरुको सम्बन्धमा झन् बढी फाटो आएको छ । महाधिवेशनपछि एमालेले रावललाई कुनै पनि प्रकृतिको जिम्मेवारी दिएको छैन ।
पार्टीले आफूलाई कुनै जिम्मेवारी नदिएपछि रावलले आफ्नो प्रभाव क्षेत्र सुदूरपश्चिममा गतिविधि बढाउन थालेका छन् । मंसिर १४ गते एमालेले बैतडीको झुलाघाटबाट पूर्वपश्चिम मध्यपहाडी राजमार्ग यात्रा सुरु गरेको थियो । मंसिर भर चलेको यात्रामा ओली पनि पूर्वपश्चिम यात्रामा सहभागी भएका थिए । तर रावलकै प्रभाव क्षेत्रमा पनि ओलीले बाइपास गरेपछि रावलले पनि गतिविधि बढाउन थालेका हुन् ।
डडेल्धुरा पुग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरी जानकारी गराएका ओलीले अछाम पुग्दा आफैसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई सम्झिएनन् । रावलको गृहजिल्ला अछामको मंगलसेन र साफेबगरमा आयोजित सभामा पनि रावल अनुपस्थित थिए । १८ दिनसम्म चलेको एमालेको मध्यपहाडी संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको थियो ।
एमालेले माघभरमा जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । यी जिल्ला अधिवेशनमा रावलले आफ्नो उपस्थिति बढाउने गरी जिल्लाजिल्लामा कार्यक्रम गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । जिल्लाका अधिवेशनमा ओफ्नो शक्ति बढाएर देखाउने रणनीतिमा रावल छन् ।
पछिल्लो केही सयम गृहजिल्ला अछाममा रहेका रावलले विभिन्न पालिकाहरूमा गएर पार्टीकै ब्यानरमा भेटघाट र छलफल लगायतका कार्यक्रम गरेका थिए । पार्टीकै ब्यानरमा काम भएको तथा केन्द्र र राष्ट्रिय राजनीतिमा ‘हाइट’ बनाएको नेताले जिल्ला र पालिका तहमा भेटघाटमा बोलाउँदा रावललाई बाइपास गर्न जिल्ला तहका नेतालाई अप्ठेरो भएको अछामका एक नेताले बताए ।
‘उहाँ राष्ट्रिय रूपमा उचाई बनाएको नेता हो । उहाँले बोलाउँदा नजाने भन्न सकिन्न । तर अहिले केन्द्रमा अध्यक्ष ओलीसँग उहाँको सम्बन्ध राम्रो छैन भन्ने कुरा सबै कार्यकर्तालाई थाहा छ । उहाँले बोलाएको कार्यक्रममा जाँदा भोलि पार्टीको राजनीतिबाट नै किनारा पारिने हो कि भन्ने भय सबै कार्यकर्तामा छ,’ ती नेताले भने, ‘उहाँको कार्यक्रममा नजान पनि अप्ठेरो छ । जान पनि अप्ठेरो ।’
रावल निकट स्रोतका अनुसार सबै जिल्लामा प्रतिस्पर्धा गर्ने र भरसक आफ्नो पक्षमा नेतृत्व हात पार्ने रणनीति रावलको छ । अध्यक्ष ओली र उनी पक्षका नेताहरूले सहमतिमा जोड गर्ने भएकाले सहमतिमा जाँदा कम्तीमा पनि आफू पक्षलाई कुनै न कुनै पदमा पु¥याउन सकिने रावलको ठहर छ ।
यसकारण पनि सुदूरपश्चिमका जिल्लामा आफ्ना कार्यकर्ताहरूलाई सेट गर्न र आफ्नो राजनीति बचाइराख्नका लागि भएपनि कार्यकर्ताहरूलाई पदमा पुर्याउनुपर्ने अवस्थामा पुगेका छन् । ओली र रावल मिल्नुको विकल्प नभएको बताउने एक कार्यकर्ताका अनुसार रावलले आफ्नो राजनीति जोगाउनका लागि पनि जिल्लास्तरमा कुनै न कुनै पदमा आफूनिकटहरूलाई पुर्याउनै पर्ने भएकाले रावलमाथि दबाब परेको देखिन्छ ।
पुस १० गते सम्पन्न एमाले सुदूरपश्चिम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रावल पक्षकै सुरत खत्री निर्वाचित भए । सहमतिमै नेतृत्व छान्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि एमाले केन्द्रीय कार्यालय च्यासलमै मतदान भएको थियो । मतदानमा रावल निकट खत्रीले ६७ मत ल्याएर अध्यक्ष जित्दा उनीसँग प्रतिस्पर्धा गरेका रोशनदेव पन्तले ६२ मत पाए ।
कमिटीको उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना चयन भए । रावलले गतिविधि बढाउँदा सुदूरपश्चिममा एमाले कार्यकर्ताहरूलाई अप्ठेरो परेको स्वीकार्छन् पन्त पनि । ‘संस्थापन पक्ष र ओली पक्ष भएर जिल्लामा तहमा विभाजन हुँदा पनि कार्यकर्तालाई अप्ठेरो छ । पार्टीकै ब्यानरहरूमा काम गरिरहेकाले रावलजीले बोलाएको कार्यक्रममा नजाने भन्न पनि अप्ठेरो छ,’ उनले भने ।
उनका अनुसार कार्यकर्ता तहमा परेको अप्ठेरोलाई बुझेर पनि नेताहरू मिल्नुको विकल्प छैन । आम कार्यकर्ताहरू पार्टी एकताका पक्षमा छन् । पार्टीमा रावललाई बाइपास गरेर भन्दा समेटेरै जाँदा सबैको ‘विनविन’ स्थिति बन्छ । साउन ३० मा ओली र रावलबीच भेट भएको थियो । त्यसयता दोहोरो कुराकानी भएको सार्वजनिक भएको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं