सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री फेर्ने हल्लाले अटेरी बन्दै सिंहदरबारका कर्मचारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको सार्वजनिक घोषणा गरेका छन् । कार्यकाल एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै मन्त्रीहरू परिवर्तन गरेर काँध फेर्ने र प्रभावकारी ढंगले काम गर्ने घोषणा गरेका छन् ।

त्यतिमात्र होइन गठबन्धन दलहरूले मन्त्री फेर्ने जमर्को नगर्दै प्रधानमन्त्री हतारिएर मन्त्री फेर्ने तयारीमा लागेका छन् । मंसिर २८ गते सिंहदरबारमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठकमा प्रस्तुत गरिएको रिपोर्ट कार्ड हेरेपछि प्रधानमन्त्री प्रचण्ड मन्त्री फेर्ने कसरतमा लागेका हुन् ।

त्यसयता उनले पटकपटक मन्त्रिपरिषद् सदस्य परिवर्तन गर्ने संकेत गर्दै आएका छन् । खासगरी प्रधानमन्त्रीले आफ्नै पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सेट लैजाने तयारी गरेका छन् । तर, प्रधामन्त्री प्रचण्डले ‘मन्त्रीहरू परिवर्तन गर्छु’ भनिरहँदा सरकारी काम प्रभावित हुन्छ भन्ने कुराको ध्यान दिएनन् ।

प्रधानमन्त्रीको यो तयारीमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायतका दलले साथ दिने अवस्था रहे पनि उनको कार्यशैली रुचाइएको छैन । एसका अध्यक्ष माधवकुमार नेपालले प्रधामन्त्रीको सो अभिव्यक्तिलाई लिएर आफ्नो दलको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्टि जनाएका थिए ।

मन्त्री परिवर्तन गर्ने कुरा एक घण्टा अगाडि भन्नुपर्ने, एकमहिना अघिबाटै प्रधानमन्त्रीले घोषणा गरेर हिँड्न थालेपछि अहिले सिंहदरवारमा मन्त्रीलाई कर्मचारीले अटेरी गर्न थालेको दलको बैठकमा अध्यक्ष नेपालको टिप्पणी थियो । ‘प्रधानमन्त्रीले कच्चा काम गरिरहेका छन् । मन्त्रीहरूको मनोबल खस्किने र कर्मचारीले अटेर गर्ने दुबै काम हुँदैछ, यो सरकार सञ्चालनमा सबैभन्दा कच्चा काम हो’, केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

खासगरी प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एस र जसपाका शीर्ष नेताहरूसँग छलफल गरेपनि अझै टुंगोमा पुगिसकेको अवस्था छैन । प्रधानमन्त्रीले ११ वटा मन्त्रालयको नतिजा खराब देखेपछि सबै मन्त्री परिवर्तन गर्ने गरी तयारी गरेका थिए ।

खानेपानी, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र युवा तथा खेलकुद मन्त्रालयको रिपोर्ट खराब देखिएको थियो ।

अन्य मन्त्रालयको रिपोर्टले पनि १०० अंकको पूर्णाङ्कमा ४० कटाउन सकेका थिएनन । जसले गर्दा प्रधानमन्त्री निकै तनावमा भएपनि गठबन्धन दलका शीर्ष नेताहरूको सहमति विना मन्त्री परिवर्तन गर्ने प्रायः असम्भव नै थियो । प्रधानमन्त्रीले मंसिर २८ मा दिएको अभिव्यक्तिपछि अहिले सिंहदरवारमा रहेका कर्मचारीहरूले मन्त्रीको निर्देशनलाई मान्न छाडिसकेका छन् ।

‘सचिव मन्त्रीलाई देख्न खोज्दैनन्, सहसचिवहरू मन्त्रीको कार्यकक्षमा आउदैनन,’ स्रोतले भन्यो, ‘मन्त्रीले दिएका निर्देशनको टिप्पणी उठ्ने कुरा त बेग्लै हो, अहिले व्रिफिङमा सचिवहरू नै जान छाडिसकेका छन् ।’ जसले गर्दा सिंहदवारमा कर्मचारीहरूले काम नगर्दा अस्तव्यस्त बनेको छ । प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै अपेक्षाकृत काम नभएको स्विकारेका थिए ।

उनले एक वर्षमा सोचेअनुसारको परिणाम दिन नसकेको भन्दै कार्यशैली बदलेर अघि बढ्ने बताएका थिए । ‘काम नभएको त होइन तर, आफ्नो सोच र हुटहुटीअनुसारको परिणाम नआएको सत्य हो,’ प्रधामन्त्रीले भनेका थिए । आफ्नै दलबाट कसकसलाई मन्त्री बलाउने भन्ने माओवादीभित्र आन्तरिक बहस शुरु भएको छ ।

माओवादीबाट सरकारमा सहभागी चार मन्त्रीमध्ये कसलाई बाहिर लैजाने र कसलाई मन्त्रीमा ल्याउने भन्नेबारेमा आन्तरिक लविङ र बहस शुरु भएको छ । यद्यपि, यसलाई केही पदाधिकारी तहमा मात्रै छलफलको एजेण्डा बनाइएको छ । प्रधानमन्त्रीले राष्ट्रियसभा निर्वाचनअगावै मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजेपनि सकेका छैनन ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस र एसले निर्वाचनपछि मात्रै फेरबदल गर्न भनेपछि केही समय रोकिएका प्रचण्ड वर्षमान पुनलाई मन्त्री बनाउने तयारीमा लागेका छन् । हरिबोल गजुरेललाई राष्ट्रिय सभामा लैजाने गृहकार्य शुरु भएको छ । यद्यपि, गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएपछि आफू राष्ट्रिय सभामा नजाने तथा मन्त्री पनि नखाने बताउँदै आएका छन् ।

यसपटक अर्को नेता देवेन्द्र पौडेललाई पनि सरकारमा लैजानेगरी छलफल थालिएको छ । तर, उनीहरु यो विषयमा खुल्न चाहदैनन् । अहिले माओवादीबाट एक राज्यसहित चारमन्त्री छन् । नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र सुदन किराती पर्यटन मन्त्रालयमा छन् ।

प्रधानमन्त्री प्रचण्ड ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको रिपोर्ट कार्डसँग त्यति सन्तुष्ट छैनन् तर, उनलाई तत्कालै हटाइहाल्न पनि मन गरेका छैनन् । प्रधानमन्त्रीका लागि उनी जत्तिको विश्वासिलो अरु देखिएका छैनन । गृह मन्त्रालयको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतमा अनुसन्धानको काम थालनी गरेका थिए ।

ती कामहरूमा गृहमन्त्री श्रेष्ठको स्पीड थेग्न प्रधानमन्त्री प्रचण्डलाई समेत गाह्रो भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरण र वालुवाटार जग्गा प्रकरणमा श्रेष्ठको भूमिका गठबन्धन दल विरोधी भएकाले त्यतिबेला गठबन्धन नै धरापमा परेकाले यसपटक प्रचण्डले यस्तो जोखिम उठाउन चाहेका छैनन् । श्रेष्ठको मन्त्रालय परिवर्तन गर्ने गरी छलफल थालिसकेका छन् ।

‘कांग्रेस यसपटक कुनै पनि हालतमा गृह मन्त्रलय लिन चाहन्छ,’ स्रोतले भन्यो, ‘विगतमा मन्त्री फेर्ने अडानबाट प्रहरी प्रमुखहरु परिवर्तन गर्ने तहमा पुगेको कांग्रेस अहिले मन्त्रालय नै लिन चाहन्छ ।’ कांगे्रेसले गृहमन्त्रालय लिएमा माओवादीले अर्थ ताक्ने भएको छ । गृह नपाए अर्थमा वर्षमान पुनलाई पठाउने सम्भावना छ ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले डा.प्रकाशशरण महतलाई तत्कालै हटाउने गरी अर्को कुनै कदम नचाल्ने बताइएको छ । पार्टी महामन्त्री गगन थापा नै आउन चाहे मात्रै महतलाई पार्टी कामको जिम्मेवारीमा पठाउने सभापति देउवाको आशय रहेको स्रोतले जनाएको छ । ‘यही गठबन्धनको सबै कार्यकाल अर्थमन्त्रीको रुपमा पार्टी महामन्त्री गगन थापा आउन चाहे देउवाले तत्काल अर्थमन्त्रालय चलाउन सक्छन् नत्र अहिलेलाई महत नै हुन्,’ कांग्रेस निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार गगन थापाले आफू आवधिक कालका लागि कुनै पनि मन्त्री नलिने बताइरहेका छन् । पर्यटनमन्त्री सुदन किरातीको रिपोर्ट कार्डसँग प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट छन । उनले क्रिश्चियन धर्मलम्बीहरूको कार्यक्रममा पुगेर प्रधानमन्त्री प्रचण्डलाई समेत मुछेर हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएपछि प्रचण्ड असन्तुष्ट रहेका छन् ।

साथै मन्त्रालय अन्र्तगतका नियुक्ति लगायतको विषयमा पनि प्रधानमन्त्री मुछिएकाले असन्तुष्ट रहेका प्रधामन्त्रीले किरातीको विकल्प खोजिरहेको माओवादी नेताहरूले बताएका छन् । सञ्चारमन्त्री रेखा शर्माको स्थानमा बाग्लुङका देवेन्द्र पौडेललाई पठाउने तयारीमा माओवादी लागेको स्रोतले बताएको छ । यद्यपि, उनको स्थानमा अर्को कुनै महिलालाई दिनुपर्ने माओवादीभित्र बहस चलिरहेको छ । नेकपा एसबाट उपाध्यक्ष राजेन्द्र पाण्डे मन्त्रीमा जाने स्रोतले जनाएको छ । उनीसँगै गरिमा शाह, भानुभक्त जोशी लगायतले मन्त्रीमा दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०७:५५

लोकप्रिय