सूचनाको शक्ति - The Power Of Information

        

माइतीघरकाे निषेधाज्ञा तत्काल हटाउन गगन थापाकाे आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डाैकाे माइतीघरकाे निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गर्नुभएकाे छ ।

आज साेमवार सिंहदरबारमा बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र ताेक्नुकाे कुनै औचित्य नरहेकाे भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो ।

हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लाेकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएकाे हाे । माइतीघरमा निषेधाज्ञाकाे औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापर्बाहीका कारण भएको बताउनुभयाे । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाही भएको उहाँले बताउनुभयाे । लापर्बाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उहाँकाे भनाइ छ ।

थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउनुभयो । उहाँले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाही भएकाे पनि बताउनुभयाे ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १३:१४