सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा निर्माण गरिँदै ट्रान्सपोर्ट भिलेज

नेपालगन्ज उपमहानगरको व्यस्त बजारमा ढुवानीका ठुला–साना साधनले ट्राफिक व्यवस्थापनमा दिनदिनै समस्या बढ्न थालेपछि समस्या समाधानका लागि ढुवानी व्यवसायीले स्वयम् ट्रान्सपोर्ट भिलेज निर्माणमा लागेका छन् ।

एकै ठाउँमा ढुवानीका साधन लोड अनलोड गर्ने योजनाअनुरूप सो भिलेज निर्माण प्रक्रिया थालेका हुन् । ढुवानी व्यवसायीको सङ्गठन भेरी ढुवानी सङ्घका अध्यक्ष त्रियोगी अग्रवालले ढुवानीका साधनले गर्दा ट्राफिक व्यवस्थापनमा असर परेर दुर्घटना समेत हुन थालेकाले त्यसको विकल्पमा नेपालगन्जमा ट्रान्सपोर्ट भिलेज निर्माणको अवधारणा अगाडि सारेर काम भइरहेको बताए ।

उहाँले ट्रान्सपोर्ट भिलेजलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरपालिकासँग सहयोग मागिएको र सोबारे नगर प्रमुख प्रशान्त विष्ट पनि सकारात्मक रहेको बताइएको छ । नेपालगन्जको वाटरपार्क नजिकको २० कठ्ठा जग्गा भाडामा लिएर ट्रान्सपोर्ट भिलेज बनाउने गरी आफूहरू अघि बढेको अध्यक्ष अग्रवालले बताए ।

भेरी ढुवानी सङ्घका सचिव रामचन्द्र भामले बुटवलमा पनि सोही प्रकारको समस्या भएपछि त्यहाँ ट्रान्सपोर्ट भिलेज निर्माण सुरु गरिसकिएकाले यहाँ पनि सोही प्रकारको योजना अघि सारिएको बताउए । उनले सडकमा ढुवानीका साधन खडा गर्दा प्रहरीले हटाउने र ती साधनले ट्राफिक व्यवस्थापनमा समस्या पनि बढ्ने भएकाले छुट्टै ट्रान्सपोर्ट भिलेज निर्माणको विकल्प नरहेको बताए ।

त्यसबारे नेपालगन्ज उपमहानगरका प्रमुख विष्टसँग जानकारी माग्दा उनले ढुवानीका साधनले गर्दा सुर्खेत रोडको ट्राफिक व्यवस्थापनमा निकै समस्या हुँदै आएकाले ट्रान्सपोर्ट भिलेज निर्माणको प्रस्ताव लिएर व्यवसायीहरू आएको बताए । एकै ठाउँमा मालवाहक सबै सवारी साधन आएर लोड अनलोड गरेमा सहज हुनुका साथै ठेला र रिक्साको पनि व्यवसाय बढ्ने हुँदा यो योजना राम्रो रहेको उनले बताए । नेपालगन्ज पश्चिम नेपालकै ठुलो व्यावसायिक सहर भएकाले यहाँ भारत र नेपालका विभिन्न ठाउँबाट दैनिक सयौँको सङ्ख्यामा ठुला गाडीहरू मालसामान लिएर आउने गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ०९:२९

लोकप्रिय