सूचनाको शक्ति - The Power Of Information

        

ग्यासको मूल्य वृद्धिले विद्यार्थी मारमा

फाइल तस्वीर

कालीकोट सदरमुकाम मान्ममा खाना पकाउने ग्यासको मूल्य वृद्धि हुँदा खरिद बिक्रीमा मनपरी देखिएको छ । त्यसले गर्दा विद्यार्थी मारमा परेका छन् । कक्षा ११ पढ्ने र एसइईको तयारी कक्षा पढ्न आएका विद्यार्थी सबैभन्दा बढी मारेमा परेका छन् ।

सदरमुकाम मान्ममा प्रतिसिलिन्डरको मूल्य दुई हजार २०० छ भने सदरमुकाम मान्म आसपास दुई हजार ५०० देखि तीन हजार ५०० सम्म पर्ने गरेको छ । सदरमुकाम मान्मदेखि १९ किलोमिटर टाढा खाँडाचक्र नगरपालिका–७, पिली बजारमा प्रतिसिलिन्डर मूल्य दुई हजार ५०० पर्ने गरेको छ ।

रास्कोट नगरपालिका–२ का होटल व्यवसायी देवनाथ योगीले दसैँअगाडि दुई हजार ६०० तिर्दै आए पनि अहिले दुई हजार ५०० तिर्ने गरेको बताए । रु.१०० कम भएपछि ग्यास धेरै खपत हुन थाले पनि अहिले डिलरबाहेकका खुद्रा ग्यास व्यापारीले पुरानै मूल्यमा किनबेच गरिरहेको पाइएको छ ।

सदरमुकाम मान्ममा सस्तोमा पाउने ग्यास महँगो हुँदा गाउँमा झन् मूल्यवृद्धि भएको छ । पलाँता गाउँपालिका निर्वमान अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिका केन्द्र रहेको थिर्पुमा ग्यासको मूल्य दुई हजार ८०० रहेको बताए । कर्णाली कोरिडोरसँग जोडिएको क्षेत्रमा त यति धेरै मूल्य पर्छ भने माथि वडा नं. १, २ तिर अझै महँगो हुुने अनुमान अध्यक्ष बमले गरे ।

उही ग्यासको मूल्य सुर्खेत, नेपालगन्जमा एक हजार ७९० पर्छ भने कालीकोट सदरमुकाम मान्म आइपुग्दा ५१० ले वृद्धि हुन्छ । गाउँमा पुग्दा त एक हजार ७०० वृद्धि भएर तीन हजार ५०० पर्दा सुर्खेत र कालीकोटका गाउँमा मूल्य दोब्बरले वृद्धि भएको देखिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ०८:५९

लोकप्रिय