सूचनाको शक्ति - The Power Of Information

        

शरीरमा १४ किलो सुन, पाँच वर्षमा ६० पटक ओहोरदोहोर

करिब १४ किलोग्राम सुनको पाता शरीरमा टाँसेर दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेलगत्तै अस्ति राति नियन्त्रणमा लिइयो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा काठमाडौं आएका घलेलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको थियो ।

पीए ०१४५४८८ नम्बरको राहदानी बोकेका घले सुनका पाता शरीरमा राखेर ल्याएको सूचनाको आधारमा पक्राउ परेका हुन् । विमानका अन्य यात्रु ओर्लेपछि अन्तिममा उनलाई नियन्त्रणमा लिइएको थियो । बुधबार राति काठमाडौं आउने टिकट रद्ध गरेर चन्द्र भोलिपल्टको उडानमा राति आइपुगेका थिए ।

प्रहरी र भन्सारको प्रारम्भिक अनुसन्धानबाट उनी पछिल्लो पाँच वर्षमा ६० पटक भिजिट भिसामा युएई जाउआउ गरेको पाइएको छ । उनी औसतमा महिनाको एक पटक दुबई र अबुधाबी पुगेर तीनदेखि पाँच दिनसम्म बसेपछि काठमाडौं फर्कने गरेको विवरण अध्यागमनको अभिलेखबाट फेला परेको हो । यसबाट उनी सुन तस्करीमा संलग्न भएको स्वतः पुष्टि भएको बताइन्छ ।

स्रोत भन्छ, ‘प्रत्येक पटक आउँदा उनले ज्याकेटभित्र लुकाएर यसैगरी किलोको किलो सुन ल्याउने गरेको संकेत मिलेको छ । काठमाडौंमा अवतरण गरेपछि विमानभित्रैको शौचालयमा सुन फाल्ने गरेको तथ्य पनि खुलेको छ । त्यसका लागि यात्रुमध्ये उनी अन्तिममा ओर्लने गरेका थिए । बिहीबार राति पनि उनी अन्तिममा ओर्लेका हुन् । चन्द्र प्रायः रातिको उडानमा काठमाडौं आइपुग्ने गरेको पाइन्छ ।’

यी सबै घटनाक्रमले कसले ल्याउने गरेको सुनको निम्ति चन्द्र भरिया बने ? भन्ने प्रश्न उठेको छ । विगतमा ५९ पटक उनी र उनको गिरोह सफल भएपनि यस पटक फन्दामा परेका हुन् । यसको निम्ति धेरैले प्रहरीको गाडी र प्रहरीमाथि नै आंशका गरेका छन् । केही समय अघिसम्म प्रहरीको गाडी विमानसम्मै पुग्थ्यो । हाल त्यसरी प्रहरीको गाडी विमानसम्म जानबाट रोकिएको छ ।

सम्भवतः विमानको शौचालयमा फयाँकिएको किलोको किलो सुन सरसफाई कर्मचारी, प्रहरीको मिलेमतोमा विमानस्थलबाट बाहिर ल्याउने गरिएको आशंकाको नजिक सबैजसो पुगेका छन् । सोही आशंकाका कारण प्रहरी महानिरीक्षकलगायत उच्च अधिकारीहरुको मथिंगल घुमेको बताइन्छ । दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित नियन्त्रणमा लिएपछि सोधपुछको निम्ति धुम्बाराहीमा रहेका मीनबहादुर घलेलाई प्रहरीले पक्रेको थियो ।

बरामद सुनबारे घलेलाई रातिदेखि नै भन्सार कार्यालयमा राखेर अनुसन्धान गर्ने क्रममा २ बजे मीनबहादुर पक्राउ परेका थिए । गोरखाका घलेलाई राति साढे ४ बजे विमानस्थल भन्सार कार्यालय पुर्याइएको थियो । त्यसपछि साढे ४ बजे चन्द्रलाई प्रहरी वृत्त गौशाला र मीनबहादुरलाई कोटेश्वर प्रहरीमा राखेर छुट्टाछुट्टै बयान लिँदा सुन काण्डको रहस्य खुल्दै गएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १२:२८

लोकप्रिय