२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

भैरहवा र पोखराबाट उडान गरे पाँच लाख !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० मंसिर १८ गते सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने जहाजलाई प्रत्येक उडानको पाँच लाख रुपियाँ प्रोत्साहन रकम दिने तयारी गरिरहेको बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले विमानस्थल सञ्चालन माग गर्दै बुझाएको ज्ञापनपत्र आइतबार बुझ्दै उनले उक्त कुरा बताएका हुन् ।

‘भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले प्राथमिकतासाथ अघि बढाउँदै जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिरहेको छ,’ उनले भने, ‘यी विमानस्थलबाट जसले नियमित उडान गर्छ, त्यसलाई प्रोत्साहन दिने तयारी गरिरहेका छौँ  ।’

मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए । उनले भने, ‘हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हुँदैन । त्यसका लागि हामी तयार छौँ । तपाईंहरूले सकारात्मक सहयोग गर्नुहोस् ।’

उनले गौमत बुद्ध विमानस्थलमा राज्यले गरेको लगानी र त्यही विमानस्थल देखेर निजी क्षेत्रले गरेको अर्बौ लगानीबारे सरकार चिन्तित रहेको बताए । मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान तत्काल थाल्न ध्यानाकर्षण गराए ।

नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिए । नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आइतबारै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई समेत ज्ञापनपत्र बुझाएको छ  ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार