बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
‘हामीले प्राथमिक बजार (आइपिओ)मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौं,’ नेपालगन्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारस तिमिल्सिनाले भने । उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए ।
‘आवश्यक खर्च शेयर बजारबाट आएको छ,’ तिमिल्सिना भन्छन् । एक हजार रुपैयाँ लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब दुई लाखको पोर्टफोलियो बनाएको बताए ।
‘हाम्रो कलेजका धेरै साथीले शेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ,’ तिमिल्सिनाले भने । तिमिल्सिनाले एक वर्षदेखि शेयर बजारको प्राथमिक र दोस्रो बजारमा कारोबार गर्दै आएका छन् ।
अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि शेयर बजारमा लगानी गरेर सफल व्यवसायी भएका छन् । दश जोड दुईको अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गरेका भट्टराईले शेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गरेका उनले शेयर बजारको स्वअध्ययन र अग्रजसँग सिकेर बजारमा छिरेको बताए ।
‘अहिले म शेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु,’ उनले भने । भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिन्छन् । ‘जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ,’ उनी भन्छन् ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालय नेपालगन्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातक तहका अधिकांश विद्यार्थी शेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले शेयर बजारबाट आएको आम्दानी कलेजको शुल्क लगायत काममा खर्च गरेको बताए ।
विद्यार्थीले रु.१०० मा खरिद गरेको शेयर रु २०० मा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए । ‘विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ,’ अधिकारीले भने । शेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुकुम, हुम्ला, जुम्ला, सल्यान लगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगन्ज आउने गरेका छन् ।
अधिकारीले केही लगानीकर्ताले एकै दिन ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक एक करोड ४५ लाख रुपैयाँको शेयर कारोबार हुने बताए । ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता छन् । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगन्जमा शेयर कारोबार गर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके