बाँकेमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको जनाएको छ ।
मङ्सिर ६ गतेबाट कम्पनीले धान खरिद सुरु गरेकोमा १० दिनको अवधीमा चार हजार क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँले हालसम्म ६८० क्विन्टल मोटो धान र तीन हजार ३२० क्विन्टल मध्यम धान गरेर हालसम्म चार हजार क्विन्टल धान खरिद गरिसकिएको बताउनुभयो ।
प्रमुख लामिछानेले दिनदिनै धान बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्न थालेपछि हालसम्म दुई वटा तराजु लगाएर खरिद सुरु गरिएकोमा अबदेखि तराजुको सङ्ख्या बढाएर चार वटा गरिने बताउनुभयो ।
उहाँले एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद गर्ने कार्य भइरहेको जनाउँदै अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको पनि बताउनुभयो ।
यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिईएकोमा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कार्यालयका अनुसार गैर कृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर धान विक्रीका लागि आउन अनिवार्य गरिएको छ ।
सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ ।
कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान बिक्रि गर्न आउनुभएका अधिकांश किसानले कम्पनीले ढिलागरि खरिद सुरु गरेकोले घाटा लागेको प्रतिक्रिया दिनुभएको छ ।
धान बिक्रिका लागि आउनुभएका जानकी ३ का किसान रमेश बर्माले धान खरिद निकै ढिला सुरु गरिएको गुनासो गर्दै अलि पहिले खरिद सुरु गरेको भए धेरै किसानलाई राम्रो मूल्य प्राप्त हुने थियो र घाटा व्यहोर्नु नपर्ने बताउनुभयो ।
यस वर्ष तोकिएको कोटा ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके