सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०–०८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आम्दानी गरेको छ ।

विद्युत निर्यात गत आव २०७९–०८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रूपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रूपैयाँ आर्जन गरिएको थियो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रूपैयाँ आर्जन भएको छ । प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रूपैयाँको विद्युत निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत बिक्री दर प्रतियुनिट ९ रूपैयाँ १८ पैसा छ ।

गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट ७ रूपैयाँ ७६ पैसा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रूपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १७:०९

लोकप्रिय