सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा किसानको धान खरिद गर्न सुरु, स्थानीय तहको सिफारिस अनिवार्य

फाइल तस्वीर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले किसानले उत्पादन गरेको धान खरिद सुरु गरेको छ ।

कम्पनीको प्राङ्गणमा शनिबार धान बिक्री गर्न आएका पहिलो किसान बाँके जानकी गाउँपालिका–५ का रुपबहादुर कार्कीलाई अबिर र फूलमालाले स्वागत गरेर धान खरिद सुरु गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेका अनुसार पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एकजना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको छ ।

शनिबार दिनभर ६ जनाले २३० क्विन्टल धान खरिद गरेका छन् । यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रमुख लामिछानेले भने, ‘पालिकाको सिफारिस लिएर आउने किसानलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर किसानले दुःख पाउने अवस्था हुनेछैन ।’

गैरकिसानले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ । कम्पनीले सरकारले निर्धारण गरेको मोटा धानको मूल्य प्रति क्विन्टल रु तीन हजार १९८ र मध्यम धानको मूल्य प्रति क्विन्टल रु तीन हजार ३६२ मा धान खरिद गरेको हो ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने कम्पनीले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०५:४९

लोकप्रिय