२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday
जाजरकोट भूकम्प :

भूकम्पपीडितका लागि कति उठ्यो प्रधानमन्त्री राहत कोषमा ?

साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त
सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २९ गते बुधबार

जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग जम्मा गर्न आग्रह गरेको थियो।

सरकारले एकद्वार प्रणालीमार्फत् राहत उपलब्ध गराउने भन्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्न आग्रह गरेको हो।

कोषमा शुक्रबारसम्म १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ ४४ पैसा जम्मा हुन आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

कोषमा राष्ट्रिय वाणिज्य बैंकले १ करोड, बुद्ध एयरले १ करोड, भाटभटेनी डिपार्टमेन्टल स्टोरका  सञ्चालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १११, सत्तारूढ दल नेपाली कांग्रेसले ५०  लाख, मुक्तिनाथ दर्शन प्रालिले ५ लाख रूपैयाँ जम्मा गरेका छन्।

त्यस्तै, ग्लोबल आइएमई बैंकले एक करोड, क्यान सेन्ट्रल पेमेन्ट रिलिजकातर्फबाट १ करोड, सूर्या नेपाल प्रालिले १ करोड, गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ जम्मा गरेका छन्।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट, बारेकोट-१ रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो।

तीन सयभन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ३५ हजार घरमा आंशिक क्षति भएको छ।

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ।

सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड र त्यसमा १ अर्ब ७५ करोड रूपैयाँ थपेर १० अर्ब विपद् व्यवस्थाप कोषमा सार्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८० कात्तिक २९ गते बुधबार