सूचनाको शक्ति - The Power Of Information

        

तीन लाख मूल्यको सयपत्री र मखमली फूल हङकङ निर्यात

चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार ३०० माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘८०० वटा सयपत्री र ५०० वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ,’ बास्तोलाले भने, ’चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो ।’

उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ । ‘अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । ’अहिले हङकङ निर्यात गरेका छौँ,’ उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’ विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए ।

‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ,’ उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’ तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ ।

यसबाट १५ लाख आम्दानी हुने अमितले बताए । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ,’ उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गर्नुभएका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

भारतको कलकत्तादेखि एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ,’ उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’ फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।

चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । ’यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौँ ।’ नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए ।

‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवर्द्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ,’ उनले भने । अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए । चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब १०० जनाको हाराहारीमा किसान छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १३:४०

लोकप्रिय