२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

धनतेरसको दिन सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २४ गते शुक्रबार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा एक हजार रुपैयाँ बढेको हो।

आज छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो मूल्य भोलि शनिबार र तिहार बिदाभरिका लागि हो।

आज धनतेरस पनि हो। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिन्छ। यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ।

धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ। आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैं घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ।

भाँडा पसलमा १ हप्ताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राखिएको छ।

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार