२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

१०० रुपैयाँको सयपत्री माला ७० रुपैयाँमा बेचेपछि ग्राहकको भिड

सत्यपाटीसत्यपाटी । झापा । २०८० कात्तिक २४ गते शुक्रबार

बजारमा १०० रुपैयाँ पर्ने सयपत्री फूलको माला ७० रुपैयाँमा बेचेपछि किन्ने मान्छेको भिड लागेको छ । गौरादह नगरपालिका–६ को महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले अहिले ७० रुपैयाँमा माला बेचिरहेको छ । सहकारीले बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री शुरु गरेको हो ।

सहकारीकी अध्यक्ष मीना ढकालका अनुसार सहकारीले सस्तोमा माला बेच्न थालेपछि झापाकै गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहकहरु आउने गरेका छन् । सहकारीले सस्तो मूल्यमा माला बेचे पनि सहकारीलाई घाटा नहुने भएपछि बजार मूल्यभन्दा सस्तोमा माला बेच्न थालेको उनले बताइन् ।

सहकारीले पाँच कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको छ । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको सहकारीले जनाएको छ । ‘सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष ढकालले भनिन्, ‘त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौंँ ।’

पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटीकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ ।

सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य दुई रुपैयाँ तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् । झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नभएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार