सूचनाको शक्ति - The Power Of Information

        

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै १ अर्बको कारोबार

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ ।

कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ ।

सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भयो ।

यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो । प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १.५१ प्रतिशतले बढ्यो ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।

यी हुन् मूल्य धेरै बढेका र घटेका कम्पनी

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । यसअघि सोमबार यही कम्पनीको मूल्य ४.२ प्रतिशतले घटेको थियो । त्यस्तै सोनापुर सिमेन्टको ५.२, सिटिजन लाइफ इन्स्योरेन्सको ५, मल्टिपर्पोज फाइनान्सको ४.६ र इङ्वा हाइड्रोपावरको मूल्य ४.४ प्रतिशत बढ्यो ।

स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घटेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९, बाराही हाइड्रोपावरको ३.१९, बलेफी हाइड्रोपावरको ३ र मेन्छियाम हाइड्रोपावरको २.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन बैंक संस्थापक, माछापुच्छ्रे बैंक, सोनापुर सिमेन्ट, सानिमा जनरल इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १७:१४

लोकप्रिय