सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भारत सरकारबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

भारत सरकारको तर्फबाट नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपत्कालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगन्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगन्ज ल्याइपुर्याएको थियो । यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो । जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार रहेको दूतावासको भनाई छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०६:१८

लोकप्रिय