सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगन्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

‘भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएका छौँ,’ उनले भने, ‘एक ट्रक जाजरकोटका लागि र एक ट्रक रुकुम पश्चिमका प्रभावित क्षेत्रमा पठाइएको हो ।’

प्रजिअ पोखरेलका अनुसार उक्त राहत सामग्री प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ । भारत सरकारबाट प्राप्त उक्त राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्ज विमानस्थलमा आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटा लगायत छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:४६

लोकप्रिय