सरकारले भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतका लागि जाजरकोट र रुकुम पश्चिममा पाँच÷पाँच करोड रुपैयाँ पठाउने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
‘राहत तथा उद्धार कार्यका लागि भूकम्प प्रभावित जागरकोट र रुकुम पश्चिम जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पाँच/पाँच करोड रुपैयाँ पठाउने निर्णय भएको छ,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू उपस्थित थिए । बैठकले खोज, उद्धार र राहतको कार्यलाई पूर्णक्षमताका साथ अघि बढाउने निर्णय गरेको छ ।
भूकम्पले संरचना भत्किँदा घाइते भएका सबैलाई अस्पताल पुर्याइएको उनले जानकारी दिए । मृत्यु भएकाहरूको मुचुल्का उठाई अन्तिम संस्कारका लागि छिटोभन्दा छिटो शव सम्बन्धित परिवारलाई बुझाइने उनले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सामग्री पठाइएको उनले जनाए । ‘आवश्कय राहत सामग्री अपुग भएमा माग भएअनुसार तुरन्तै पठाउने निर्णय भएको छ,’ उनले भने ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका अस्पतालमा आवश्यक पर्ने चिकित्सक र औषधी पुर्याइसकिएको उनले जानकारी दिए । भूकम्पले गरेको क्षतिको विवरण संकलन गर्न विज्ञहरूको टोली पठाइसकिएको भन्दै उनले विवरण संकलन गर्न अर्को टोली पनि पठाउने तयारी भइरहेको बताए । गएराति जाजरकोटमा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले संरचनाहरू भत्किँदा ठूलो जनधनको क्षति भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं