सूचनाको शक्ति - The Power Of Information

        

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत मध्यम देखिन्छ । आयोजनाको अनुमति पत्र बहाल रहने अवधि भने अझै ३३ वर्ष रहेको छ ।

कम्पनीको मुख्य व्यवसाय नै सोही आयोजनाबाट विद्युत् उत्पादन गरेर नाफा कमाउने हो ।

आयोजनाको पावरहाउस तथा टेलरेसतर्फको काम ९६ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:४६

लोकप्रिय