सूचनाको शक्ति - The Power Of Information

        

प्रकाशकीय

सिकाइको आधा दशक : ‘परिपक्वता, कर्तव्यबोध र उत्साहित’

जे होस्, ‘सिंहदरबार’ले हामीलाई पढ्न र सुन्न थालेको छ । यी विषयलाई हामीले हाम्रो सफलता ठानेका छौं । आगामी दिनमा हाम्रो मुख्य ध्यान खोजमूलक पत्रकारिताका माध्यमबाट पारदर्शी सुशासन स्थापनाका लागि सघाउनेतर्फ हुनेछ ।

सत्यपाटी पब्लिकेशन प्रालिद्वारा सञ्चालित सत्यपाटी डटकम (www.satyapati.com) स्थापनाको पाँच वर्ष पूरा गरेर आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं । तपाईंहरूको शुभेच्छा, हौसला र प्रेरणाले सत्यपाटी डटकम यात्रामा अविराम खटिरहन सकेको छ भन्ने हाम्रो बुझाइ छ ।

सूचना तथा प्रशारण विभागमा २०७५ कात्तिक १५ गते अर्थात् आजकै दिन विधिवतरुपमा दर्ता भई हामीले खोजी पत्रकारिताको एउटा नयाँ अध्याय शुरू गरेका थियौं । जुन सोच राखेर सत्यपाटीको यात्रा शुरू भएको थियो त्यसमा थोरै भए पनि लक्ष्य प्राप्त गर्न सकेको हाम्रो मूल्यांकन छ । मूलधारका मिडियामा खोजी पत्रकारिताको धार भुत्ते हुँदै गइरहेको समयमा हामीले त्यसैलाई मूलमन्त्र मानेर कठिन यात्रा शुरू गर्‍यौं, जतिबेला चलनचल्तीको भाषामा अनलाइन भनिने डिजिटल पत्रिकालाई राज्यले सही रुपमा ‘चिनेकै’ थिएन ।

तर, अहिले अनलाइन पत्रिकाहरूमा आइरहेका खोजमूलक समाचारले मूलधार मिडियाको परिभाषा पूरै बदलिएको छ । हामी अघिअघि र परम्परागत मिडिया पछिपछिको अवस्था छ । पाँच वर्षको समयमा हामीले सुशासनलाई केन्द्रमा राखेर खोजमूलक समाचारलाई प्रधान विषय बनायौं । हामीले उठान गरेका कैयौं विषयमा राज्यका सरोकारवाला निकायहरुले चासोका साथ हेरेका छन् । सरकारका नीतिगत निर्णयहरु सच्चिएका छन् । राजनीतिको भित्री कुरा र समाजको बदलिँदो चित्रलाई हामीले पाठकसम्म पुर्‍याइरहेका छौं ।

जे होस्, ‘सिंहदरबार’ले हामीलाई पढ्न र सुन्न थालेको छ । यी विषयलाई हामीले हाम्रो सफलता ठानेका छौं । आगामी दिनमा हाम्रो मुख्य ध्यान खोजमूलक पत्रकारिताका माध्यमबाट पारदर्शी सु-शासन स्थापनाका लागि सघाउनेतर्फ हुनेछ । ‘खोजी पत्रकारिता’ गर्छु भन्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । पटक–पटक सरकारी कार्यालय धाएर सूचना ल्याउने र त्यसलाई पाठकसम्म पस्किने काम सहज छैन । ‘सूचनाको शक्ति’लाई मूलमन्त्र मान्दै सत्य तथ्य सूचना आम जनसमुदायमा पुर्‍याउने र त्यही अप्ठ्यारो काममा नतिजा निकाल्ने प्रयत्नरत छौं ।

निष्पक्ष र वस्तुनिष्ठ समाचार पस्किनुपर्छ भन्ने कुरामा हामी सदैव अडिग छौं । आगामी दिनहरुमा राजनीति, आम–जनतासँग प्रत्यक्ष सरोकार राख्ने समसामयिक विषयबस्तुहरुमा ‘सत्यपाटी डटकम’ले थप अन्तर–संवादलाई प्राथमिकता दिनेछ । चौतर्फी चासो र चिन्ताको बिषय बनेको भ्रष्टाचारलाई नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र ६१ किलो अवैध सुन तस्करी प्रकरण, पशुपतिनाथ मन्दीरको जलहरी प्रकरण लगायतका ठूला र बहुचर्चित काण्डहरुले नेपाली राजनीतिलाई गिजोलिरहेको छ ।

बर्षौदेखि जरा गाडेर बसेको यो समस्या तार्किक निस्कर्षमा पुग्छ कि यत्तिकै हराएर जान्छ त्यो हेर्न बाँकी नै छ । यी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव तथा पूर्व सचिवहरु लगायत उच्च पदस्त व्यक्तिहरु पक्राउ परेर छानविन भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र ६१ किलो अवैध सुन तस्करी प्रकरणले अहिले सामाजिक सञ्जालका भित्ताहरु पोतिएका छन् । खबरदारीको क्रम जारी छ । यी काण्डहरुमा छानविन चलिरहेकै छ ।

दोषीलाई उम्कन दिन नहुने भन्दै चौतर्फी दवाव बढिरहेको बेला उच्चपदस्थ व्यक्तिहरु नै भ्रष्टाचारमा मुछिएपछि यो मुद्दा देशमा मात्रै होइन बिदेशमा समेत चासो र चर्चाको विषय बनेको छ । नीति निर्माताले नै मोटो रकम असुलेर नक्कली शरणर्थी खडा गरेको भन्दै यसको यर्थाथ आम जनतामाझ ल्याउन सरकारलाई दवाव बढेको छ । कतिपय विदेश मामिलाका जानकारहरु यो घटनाले अन्तराष्ट्रिय जगतमा नेपालको साख गुम्ने र नेपाललाई दिदै आएको सर्मथनमा असर पुग्ने अडकलवाजी भइरहेको छ ।

यी प्रकरणहरुमा दर्जनौं नेता कार्यकर्ताको संलग्नता रहेका पछिल्ला घटनाक्रमहरुले प्रष्ट हुन्छ । आमनागरिक, बुद्धीजिवी, सरकारमा सामेल राजनीतिक दलदेखि सत्ता बाहिर रहेका दल, विभिन्न पेशाकर्मी, नागरिक समाज सबैको यतिवेला ‘दोषी कसैलाई पनि छाड्नु हुन्न’ भन्ने माग छ । स्वतन्त्र र निष्पक्ष ढंगले यी सबै प्रकरणहरुमाथि छानबिन होस् दोषी उम्कन नसकोस्, निर्दोष व्यक्तिले सजाए भोग्न नपरोस् । एकातर्फ देशमा भ्रष्टाचार व्याप्त छ भने अर्कोतर्फ आर्थिकमन्दी । कोरोनापछि देखिएको आर्थिक मन्दीको मार नेपालले पनि भोगिरहेको छ ।

कोरोना महामारी, युक्रेन युद्ध लगायतका कारणले देखापरेको आर्थिक मन्दीका कारण बजार नराम्ररी प्रभावित छ । त्यसको प्रत्यक्ष मार मिडिया उद्योगहरुले पनि सामना गरिराख्नुपरेको छ । व्यापार व्यवसाय ठप्प जस्तै छ । धेरैको रोजगारी गुमेको छ । नेतृत्वले वर्तमानमा देखिएका सबै समस्याको समयमै पहिचान गरेर हल गर्न तदारुकता देखाउनुपर्छ भने आमसञ्चार माध्यमले पनि खबरदारीलाई निरन्तरता दिनुपर्ने भएको छ । भ्रष्टाचार उन्मूलन र सुशासन कायम भएको समाचार लेख्न पाइयोस् ।

विधिको शासन र सुशासन कायम गर्न सकियो भने मूलुकको मूहार अवश्य पनि बदल्न सकिन्छ । सञ्चारमाध्यमले यो विषम् परिस्थितिमा निर्वाह गरेको भूमिकालाई पनि बिर्सन हुँदैन । यस चुनौतीलाई चिर्दै हामी नयाँ ऊर्जासाथ खोजमूलक पत्रकारिताको धारलाई अझ तेजिलो बनाउने प्रण गर्दछौं । सत्यतथ्य सूचना आमनागरिक माझ पु¥याउन हामी तत्परताका साथ लागेका छौं र सधै लागिरहने छौं । यो जटिल परिस्थितिका बावजुद पनि हामीले आफ्नो जिम्मेवारीलाई भुलेका छैनौं । प्रभावकारी सूचना दिन हामी सधै सचेत र सजग रहने नै छौं ।

पत्रकारिताको धर्म, मर्म र आचारसंहिता पालनामा अडिक छौं । सबैप्रति हामी आभारी छौं । पाठक दर्शकहरुको साथ र मायाले हामी उत्साहित छौं नै अझ बढी जिम्मेवारीबोध पनि भएको छ । खोजमूलक, विश्वसनीय र सन्तुलित सामग्री पस्कनुका अलावा हाम्रो मिडियालाई पाठकसामु अझ बढी परिचित गराउँदै अघि बढ्ने हाम्रो अभियान पनि निरन्तर चल्नेछ । यात्राको सुरुवात गर्दा कस्तो प्रतिक्रिया आउँछ भन्नेमा अन्यौल थियो । काम गर्दै जाने क्रममा पाठक, दर्शकले हाम्रो कामलाई स्वीकार्दै गएको महसुस गरेका छौं ।

कोही पनि आफैंमा पूर्ण हुँदैन । अभ्यास गर्दै जाने क्रममा धेरै सिकिन्छ । हाम्रो हकमा पनि त्यस्तै भयो । काम गर्दै जाने क्रममा केहि कमजोरी पक्कै हुन्छन्, त्यसलाई सुधार गर्ने तत्परता हामीले सधै राख्दै आएका छौं । सधैँझैं हाम्रा गल्ती–कमजोरी औंल्याएर सत्मार्गमा अघि बढ्न तपाईं समस्त पाठकको रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा हामी गर्दछौं । सामाजिक सञ्जालमार्फत पनि आफ्ना सुझाव, सल्लाह र आलोचना गर्न सकिने सुविधालाई पाठक, दर्शकले पूर्ण उपयोग गर्दै हामीलाई मार्गनिर्देश गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

यो यात्रामा साथ दिने पाठक, दर्शक र व्यावसायिक रुपमा साझेदारी गर्ने व्यापारिक समूह र सहयोगीहरुप्रति हामी सदा सर्वदा आभारी छौं । हाम्रो यो यात्रामा हामीलाई यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनुहुने सम्पूर्ण पत्रकारहरु, लेखक, अधिकारकर्मी, समालोचक, साहित्यकार, स्तम्भकार लगायत सबैप्रति हामी कृतज्ञ छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि हामीलाई आवश्यक छ । धन्यवाद ।।

 

काशीराम शर्मा
अध्यक्ष/सम्पादक
सत्यपाटी पब्लिकेशन प्रालि
(www.satyapati.com)

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ११:०३

लोकप्रिय