सरकारले दशैँको अन्तिम समयमा सुपारी, केराउ र मरिचको आयात गुपचुपमा खुलाएको छ । श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठीको सहयोग र संलग्नतामा सरकारले चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।
‘सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भएको छ, यसमा ठूलै गिरोह संलग्न छ,’ उद्योग मन्त्रालय स्रोतले भन्यो । केही दिनअघि गुपचुप रुपमै सुपारी आयात खुला गर्ने निर्णय भएको थियो । तर, त्यो सूचनालाई राजपत्रमा प्रकाशित भने गरिएको थिएन । गत शुक्रबार दशैँ बिदाको छेको पारेर राजपत्रमा सूचना प्रकाशित भएको छ ।
मन्त्रिपरिषद्को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम शुक्रबार राजपत्रमा प्रकाशन गरिएको हो । दुई वर्षअघि औद्योगिक प्रयोजनमा के कसरी आयात दिने भन्ने कार्यविधि बनाइएको थियो । त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारको दावी छ ।
शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आयात खुलाएको स्रोतले जनाएको छ । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम यी वस्तुलाई प्रतिबन्ध लगाइएको थियो ।
सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, मिति २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकामा सोही दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको राजपत्रमा उल्लेख छ ।
यस व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिच सेतो कालो दुबै पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको राजपत्रमा भनिएको छ ।
तेस्रो मुलुकबाट सुपारी आयातमा ठूलो परिणाममा विदेशी मुद्रा बिदेसिन्छ । नेपाली उद्योगका लागि भनेर सरकारले आयात खोलेपनि अवैध रूपमा ठूलो परिमाणमा सुपारी भारततर्फ निकासी हुने गरेको छ । सुपारी निकासीमा अर्बौं रूपैयाँको चलखेल हुने भएकाले सुपारी व्यापारीको सेटिङमा सरकारले आयात खुला गरेको हो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि नै सुपारी लगायत वस्तु आयात खुला गर्ने निर्णय गरेको थियो । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरेर नेपाली सुपारीलाई प्रतिस्थापन गर्ने र विदेशी सुपारी आयात गरी भारततर्फ तस्करी गर्न सहज बनाएको थियो ।
नेपालमा हरेक वर्ष १२ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको तथा त्यो सुपारी पनि नेपालका उद्योगीहरूले राम्रो मूल्य नदिएका कारण बिक्री नहुने अवस्थाकै बीचमा सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएको छ ।
नेपालको उद्योगमा १२ सय टन पनि खपत नहुने सुपारी कुन प्रयोजनका लागि आयात खुला गरिएको हो भन्नेबारेमा सरकारले एकिन जवाफ दिन सकेको छैन । अहिले पनि त्यो अन्योलमै रहेको छ । डा.आरजु देउवा कृषि समितिको सभापति हुने वित्तिकै सुपारी आयात खुलाउनुपर्ने धारणा सार्वजनिक गरेकी थिइन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं