सूचनाको शक्ति - The Power Of Information

        

सिक्टा सिँचाइ आयोजना

२० हजार हेक्टर जमीनमा सिँचाइ गर्न २० अर्ब खर्च

बाह्रैमास पानी सुविधा भएमा किसानले धानबाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि किसानको आशा अझै पूरा हुन सकेको छैन ।

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ ।

अठार वर्षअघि सात अर्ब रुपैयाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ । आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

आयोजनाका लागि हालसम्म २० अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको र त्यसबाट २० हजार २०० हेक्टर जमिनमा मात्र सिँचाइ पुगेको आयोजनाले जनाएको छ । एक अर्ब रुपैयाँ खर्च बराबर एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६२–०६३ देखि आयोजना निर्माण सुरु गरिएको थियो ।

आयोजना सुरु भएको करिब दुई दशकमा २० अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्य अनुसार कार्य भएको छैन । तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर २०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको तर सो अवधिमा कार्य सम्पन्न हुने सम्भावना निकै कम रहेको सिक्टा सिँचाइ आयोजनाकै अधिकारीहरू बताउँछन् ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सन्देश पौडेलले बन्द, हड्ताल, कोरोना, किसानले हालेको मुद्दा लगायतका कारण निर्माण कार्यमा केही ढिलाइ भएको तर काम नियमित नै भए रहेको बताए । निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण लागत पनि बढेको उनले बताए । बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धान खेती हुन्छ ।

बाह्रैमास पानी सुविधा भएमा किसानले धानबाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि किसानको आशा अझै पूरा हुन सकेको छैन । आयोजनाले आवश्यकताभन्दा निकै कम पानी छोडेर तयार भएका नहरको परीक्षण गरिरहेको किसानको गुनासो छ । किसान अगुवा शालिकराम डाँगीले पूर्वी र पश्चिम नहरमा छोडिएको पानीबाट किसानले खासै फाइदा लिन नसकेको दाबी गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १६:०७

लोकप्रिय