सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा बिक्री नभएका कुखुरा बेच्न मूल्य घटाउँदै व्यवसायी

दसैँमा बिक्री नभएका कुखुरा बेच्न व्यवसायीले कुखुराको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेका कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताए ।

उनका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । मूल्य अझ कम हुन्छ । उनले भने, ‘हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।’

अघिल्लो वर्षको दसैँमा देशभर दैनिक १२ लाख किलो कुखुराको मासु बिक्री भएको थियो भने यस पटक छ लाख किलो कटाउन पनि मुस्किल भएको अध्यक्ष सिंहले बताए । ‘दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन,’ उनले भने ।

उनका अनुसार बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ । ‘बढी भएको कुखुरा खपत गर्न बाध्यता छ, बिक्री भएन भने त्यसलाई पुर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

कुखुराको मासु खपत गर्ने कतिपय रेस्टुरेन्ट, होटल, होस्टल, चमेनागृह बन्द भएका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताले विगतको भन्दा कम मासु खाएका छन् भन्दै उनले यस्तो अवस्था रहिरहने हो भने धेरैको टाट पल्टिने अवस्था आउन सक्ने बताए ।

व्यवसायीले बैङ्कबाट लिएको ऋणको ब्याज बढ्दै छ, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढ्याबढ्यै छ, यस अवस्थामा बिक्री कम हुनुले किसान तथा व्यापारी निकै मर्कामा परेको उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार ०७:५७

लोकप्रिय