सूचनाको शक्ति - The Power Of Information

        

भारु नचल्दा सीमाको व्यापार प्रभावित

सीमा क्षेत्रका सहरमा १०० भन्दा ठूला भारतीय नोट नचल्दा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए ।

‘नेपाल राष्ट्र बैंकले १०० भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,’ चौधरीले भने, ‘कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ ।’ भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ ।

भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु ५०० दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।

नेपाली मुद्रामा कारोबार हुने सीमापारि बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राकह ठगिने गरेको अर्को समस्या छ । उनीहरूले सटही गर्दा चलनचल्तीभन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् ।

चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ । सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् ।

नेपालका बजारमा खाने तेल, चिनी, दाल लगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिएकी धनगढीकी मनमति विष्टले बताए । बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् ।

सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् । त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार ०७:५०

लोकप्रिय