गणतन्त्र अगाडि देशमा राजतन्त्र थियो । त्यतिखेर राजतन्त्रमा राजा नै राष्ट्रप्रमुख हुनु स्वाभाविक थियो । त्यसैले आफूलाई लागेको गर्थे । राष्ट्रप्रमुखको हैसियतमा दसैँका अवसरमा राजाहरूले राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई टीका लगाइदिने प्रचलन थियो । देश हिन्दु राज्य भएका कारण पनि राजाहरूले धर्मको रक्षाका लागि यस्तो प्रचलन बसाएका थिए ।
देश हिन्द राष्ट्र र राजतन्त्र रहँदा राजाहरूले दसैँमा टीका लगाइदिने प्रचलनलाई सामान्य नै मानिएको थियो । तर, राजतन्त्र ढलेर देशमा गणतन्त्र भइसक्यो । सँगै हिन्द राष्ट्र हटेर धर्मनिरपेक्ष बनिसक्यो । देश धर्मनिरपेक्ष बनिसकेपछि राष्ट्रप्रमुख वा अरू कसैले पनि निश्चित धर्मको पक्षपोषण गर्नुलाई उचित मानिन्न । तर, गणतन्त्रपछि संवैधानिक रूपमा राष्ट्र प्रमुखको हैसियतमा रहेका राष्ट्रपतिहरूले पनि हिन्दु धर्मकै पक्षपोषण गरिरहेका छन् ।
गणतन्त्रपछि कार्यकालका हिसाबले चार र व्यक्तिको हिसाबले ३ जनले राष्ट्रपतिको रूपमा तीन जनाले राष्ट्र प्रमुखको जिम्मेवारी निर्वाह गरेका छन् । डा. रामवरण यादव पहिलो राष्ट्रपति हुने भने दोस्रो र तेस्रो राष्ट्रपतिका रूपमा बिदादेवी भण्डारीले देशलाई अभिभावकत्व प्रदान गरे । चौथौँ राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेल शीतल निवासमा विराजमान छन् ।
यी तीनै राष्ट्रपतिले दसैँका बेला राजनीतिज्ञ, उच्चपदस्थ सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका लगाइदिएका छन् । गणतन्त्रपछिका हरेक राष्ट्रपतिले सार्वजनिक सूचना नै जारी गरेर दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका हुन् । गणतन्त्रमा पनि राजतन्त्रमा राजाहरूले सर्वसाधारणलाई टीका लगाइदिए झैँ राष्ट्रपतिले टीका लगाइदिने गरेको भन्दै सार्वजनिक रूपमा आलोचना हुने गरेको छ ।
तर, तीनै जना राष्ट्रपतिले यस विषयमा मतलब नै नराखी सूचना नै जारी गरेर टीका लगाइदिएका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि केही सुधारको प्रयत्न गरेका थिए । विशेषगरी आवतजावतमा हुने भारीभर्कम कार्गेट त्यागेका पौडेलले दसैँमा टीका लगाइदिने राजाहरूको चलनमा ब्रेक लगाउँछन् भन्ने अपेक्षा गरिएको थियो । तर, उनले पनि दसैँका अवसरमा शक्तिपिठहरुको धूमधाम दर्शन गर्दै दसैँमा टीका लगाइदिएका छन् ।
राजाहरू जसरी नै दसैँमा राष्ट्रपतिले टीका लगाइदिने प्रचलनलाई दुई कोणबाट आलोचना गर्ने गरिएको छ । पहिलो, गणतन्त्रमा पनि राजतन्त्रकै परम्परालाई निरन्तरता दिनु वर्तमान व्यवस्थाको अस्वीकार र अवहेलना मानिएको छ । राम्रो कुराहरूको अनुसरण गरे राम्रै मानिने भए पनि धार्मिक रूपमा राजाहरूले लादेको परम्परालाई निरन्तरता दिनुलाई उचित मानिएको छैन ।
दोस्रो, धर्मनिरपेक्ष देशमा हिन्दु राष्ट्र झैँ राष्ट्रप्रमुखले हिन्दु धर्ममा आधारित दसैँमा सर्वसाधारणलाई टीका लगाइदिनु हिन्दु धर्मको पक्षपोषण हो । धर्मनिरपेक्ष राष्ट्रमा राष्ट्र प्रमुखले निश्चित कुनै एक धर्मको पक्षपोषण गर्नु व्यवस्थाकै अपमान हो । यसरी गणतन्त्रमा पनि राष्ट्रपतिहरुले राजाहरुकै परम्पलाई निरन्तरता दिनुलाई कतियले ‘आफूलाई राजाकै दर्जामा राख्ने प्रयत्न’का रुपमा समेत टिप्पणी गर्ने गरेका छन् ।
गाणतन्त्रपछि वनवासमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई राजाकै हैसियतमा राखेर हरेक दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । राजतन्त्र मान्नेहरू उनको टीका समारोहमा सहभागी हुने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राजावादी दल हो । गणतन्त्रको भरपुर उपभोग गर्दै राजतन्त्र फर्काउने एजेन्डा बोकेका यस दलका नेताहरू निरन्तर राजासँग टीका ग्रहण गर्ने गर्दछन् । दसैँमा ज्ञानेन्द्रसँग टीका लगाउन जाने राजनीतिज्ञ र सर्वसाधारणले ‘श्री पाँच सरकार’ भनेरै सम्बोधन गर्ने गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं