२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

थप १०० मेगावाट विद्युत् भारत निर्यात गर्दै विद्युत प्राधिकरण

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक ६ गते सोमबार

नेपाल विद्युत प्राधिकरणले थप १०० मेगावाट बिजुली भारत निर्यात गर्ने तयारी गरेको छ । प्राधिकरणले थप १०० मेगावाट विद्युत् निर्यातको स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव पठाएको हो ।

भारतबाट स्वीकृत भएर आउने बित्तिकै थप १०० मेगावाट बिजुली निर्यात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । चाडपर्वका बेला कलकारखाना बन्द हुने र काठमाडौँमा चिसो भई नसकेको अवस्थामा बाँकी विद्युत् निर्यात गर्न सकिने उनले बताए ।

‘हामीले थप १०० मेगावाट विद्युत् निर्यातका लागि भारतको स्वीकृतिका लागि प्रस्ताव पठाएका छौं । तर अहिलेसम्म स्वीकृति नपाएपछि केही अघि पुनः प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइ नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घट्छ ।’

भारतबाट थप विद्युत् निर्यातको स्वीकृति नपाउने हो भने विद्युत गृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने प्राधिकरणको भनाइ छ । ‘छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं,’ घिसिङले भने । प्राधिकरणले २०८० जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारत बेचेको जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०–०८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाखरुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक ६ गते सोमबार