सूचनाको शक्ति - The Power Of Information

        

कोटा तोकेर भारतले नेपाललाई चामल निर्यात खोल्यो

भारतले नेपाललाई परिणाम तोकेर चामल निर्यात फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले बुधबार जारी गरेको सूचनामा चामल निर्यातको अनुमति दिइएको उल्लेख छ ।

भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका माध्यमबाट ९५ हजार मेट्रिक टन चामल निर्यात हुनेछ । भारतले गत साउनको पहिलो साता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाउने घोषणा गरेको थियो ।

खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको भारतले जनाएको थियो । भारतले चामल निर्यातको घोषणा गरेसँगै नेपालमा चामलको मूल्य बढ्न पुगेको थियो ।

नेपालले भारतबाट ठूलो परिमाणमा धानचामल आयात गर्दै आएको छ । नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग चामल निर्यातको फुकुवाका लागि अनुरोध गरेको थियो । नेपालले एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो ।

भारतले ९५ हजार मेट्रिक टन चामल निर्यातका लागि फुकुवा गरिदिएको हो । भारतले नेपाल सहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्स लगायत देशका लागि कोटा तोकेर चामल निर्यात फुकुवा गरेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १४:१५

लोकप्रिय