सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा कपडाको खपत धेरै, जुत्ता चप्पल बिक्री उच्च

दसैँका बेला बजारमा लत्ताकपडा, खसीबोका, सुन, जुत्ता चप्पल, मरमसला र खाद्यान्नको कारोबार बढी हुने गर्छ । नेपालीको महान् पर्व दसैँमा निम्न वर्गदेखि उच्च वर्गका व्यक्तिले नयाँ कपडा लगाउने भएकाले पनि खपत धेरै हुने गर्छ ।

अन्य समयको तुलनामा लत्ताकपडाको कारोबार दोब्बर तेब्बर बढी हुने गरेको व्यवसायीको भनाइ छ । अध्ययन, रोजगारीको सिलसिलामा घरबाहिर रहेका व्यक्तिले दसैँ मनाउन गाउँमा फर्कने बेला धेरैले उपहारका रूपमा कपडा लगिदिने चलन छ । जसका कारण पनि अन्य सामानको तुलनामा नयाँ कपडाको व्यापार बढी हुने गरेको छ ।

खाद्यान्नको समेत खपत धेरै हुने गर्छ । असनमा विगत २० देखि कपडा व्यापार गर्दै आएका रञ्जित गुप्ताले दसैँमा धेरै व्यापार कपडाको हुने गरेको बताउँछन् । ‘दसैँमा सबैले नयाँ कपडा लगाउने हुँदा पनि बजारमा कपडाको माग उच्च हुन्छ,’ उनले भने, ‘यो वर्ष किनमेल गर्नेको भिडभाड धेरै भए पनि कारोबार भने बढ्न सकेको छैन ।’

बजारमा सामानको मूल्य बढेको र ग्राहकको क्रयशक्ति कम हुँदा दसैँमा लत्ताकपडाको व्यापारमा उत्साह नभएको उनको भनाइ छ । भोटाहिटीमा जुत्ताचप्पल व्यापार गर्दै आएको रमेश अग्रवाल अन्य समयको तुलनामा दसैँमा जुत्ता चप्पलको खपत बढी हुने गरेको जानकारी दिए ।

बजारमा सिजन अनुसारका जुत्ता चप्पल ग्राहकले खोज्ने भए पनि दसैँमा धेरै माग हुने उनको भनाइ छ । भृकुटीमण्डपमा विगत २० वर्षदेखि कपडाको व्यापार गर्दै आएका नवराज खड्काले दसैँमा कपडाको व्यापार बढी भएको बताए । एक हप्तासम्म कपडा किनमेल गर्नेको भिडभाड धेरै नै रह्यो, दसैँ मनाउन घरमा जान थालेपछि भने भिड कम हुन थालेको उनको भनाइ छ ।

सडकपेटीदेखि व्यापारिक मलमा कपडा किनमेल गर्ने ग्राहकको भिड लाग्ने गरेको छ । दसैँमा विभिन्न कम्पनीले सेल, दसैँ अफरमा छुट दिएर सामान बिक्री गरिरहेका छन् । दसैँमा उपत्यकामा खाद्यान्नको खपत पनि धेरै हुने गर्छ । दाल, तेल, चामल, चिनीको समेत बढी खपत हुने गर्छ । व्यवसायीका अनुसार दसैँमा मात्र उपत्यकामा २० हजार टन चिनी खपत हुने गर्छ ।

सरकारले समयमा चिनी आयातको अनुमति नदिँदा बजारमा चिनीको मूल्य बढेर प्रतिकेजी १५० रुपैयाँ पुगेको छ । साल्ट टे«डिङ कर्पाेरेसनले सहुलियत पसलमा प्रतिकेजीमा ९७ रुपैयाँ वितरण गरेको छ । चिनी लिनका लागि घण्टौँ समय लाइनमा बस्नुपरेको उपभोक्ताको गुनासो छ ।

व्यवसायीले कृत्रिम अभाव गराएर बजारमा प्रतिकेजी १५० देखि १६० रुपैयाँ लिई उपभोक्ता ठगिरहेका छन् । कोसेलीका रूपमा पुष्टकारी, गुदपाक घरमा लिएर जाँदा यसको व्यापार धेरै हुने गर्छ । न्युरोड गेटमा रहेको गुदपाक पसलमा खरिद गर्ने ग्राहकको भिड लाग्न थालेको छ । उपत्यकामा दसैँमा खसीबोकाको खपत धेरै हुने गर्छ ।

दसैँमा मासु खाने भएकाले पनि यसको खपत धेरै हुने गर्छ । उपत्यकामा दसैँमा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा खपत हुने व्यवसायीको भनाइ छ । व्यापारीले घटस्थापनाको दिनदेखि नै बिक्री सुरु गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि बिक्री सुरु गरेको छ ।

कम्पनीले प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर खसीबोका प्रतिकेजी ६७० र च्याङ्ग्रा एक हजार २५० रुपैयाँमा बिक्री गरिरहेको छ । दसैँमा जिराको समेत खपत बढी हुने गरेको व्यवसायीको भनाइ छ । मसलाका रूपमा मासुमा प्रयोग गर्न चाहिने भएकाले पनि यसको खपत धेरै हुने गर्छ । मूल्य बढेकाले गत वर्षको तुलनामा व्यापार न्यून रहेको व्यवसायीको भनाइ छ ।

न्युरोड मक्खन गल्लीका व्यापारी सन्दीप झाले एक वर्षमा जिराको मूल्य तेब्बरले बढेकाले व्यापार न्यून रहेको बताए । गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य बढेर अहिले एक हजार २५० रुपैयाँ पुगेको छ । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न छिमेकी मुलुक भारतबाट जिरा आउँछ ।

पछिल्लो समय चीनबाट समेत जिरा आयात हुने थालेको व्यवसायीको भनाइ छ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएकाले त्यसको असर नेपालमा पर्न गएको हो । दसैँ सुरु भएसँगै सुनको कारोबारमा सुधार आएको छ । न्युरोडका सुन पसलमा नयाँ गहना किन्न ग्राहकको भिडभाड लाग्न थालेको छ ।

सुनको मूल्य बढेका कारण लामो समयदेखि कारोबार बढ्न सकेको थिएन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दैनिक १५ देखि २० किलो सुन बिक्री हुने गरेको छ । दुई साताअघि सुनको मूल्य घटेर प्रतितोला एक लाख छ हजार ६०० रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमिक रूपमा मूल्य बढ्दै एक लाख ११ हजार ९०० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:१४

लोकप्रिय