सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकको विवरण

८.१९ प्रतिशत पुग्यो मूल्यवृद्धि, सरकारी अनुमान गलत

सरकारले चालू आवमा मूल्यवृद्धिको सीमा साढे ६ प्रतिशतमा राखिने लक्ष्य लिए पनि दुई महिनामै मूल्यवृद्धिले काट्यो सीमा ।

सरकारले चालू आर्थिक वर्षमा मूल्य वृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखे पनि साउन र भदौमै सीमा नाघेको छ ।

आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०–०८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ ।

त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १३.०८ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवा १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६.५९ प्रतिशतले मूल्य बढेको छ ।

भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति शून्य.१८ प्रतिशतले घटेको छ । यो अवधिमा काठमाडौंँ उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १५:१२

लोकप्रिय