सूचनाको शक्ति - The Power Of Information

        

पाँच हजारबाट व्यवसाय सुरु, महिनामै डेढ लाख कमाई

‘अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ’, यो भनाइ हो नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक ऋचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले ऋचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन् ।

तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि २५० सम्मको फाइदा भएको उनले बताइन् । ‘सुरुमा सानो पुँजीमा पाँच वटाजति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो,’ उनले भनिन्, ‘एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुईवटा साथीलाई उपहार दिएँ ।’

दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक रु ३५ हजार थियो । तर उनी त्यो कामबाट सन्तुष्ट भइनन् । आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले ऋचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन् । जुन नेपालगन्जमा एकदमै नयाँ थियो ।

‘अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगन्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ,’ उनले भनिन्, ‘यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यसको सुरुवात गरेँ ।’ उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटक लगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छन् ।

उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन् । ऋचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । ‘अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु,’ उनले भनिन्, ‘टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।’

हाल उनले मासिक रु १० लाखको कारोबार गर्छिन् । जसबाट रु एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ । घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले सुनाइन् । हिजोआज ऋचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ ।

महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने ऋचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो । व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले ऋचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्यायो । उनका अनुसार उक्त मेलामा ऋचाले रु ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरिन् ।

‘त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो,’ उनले भनिन्, ‘मैले तत्कालीन समयमा जोखिम लिए रु ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो । मैले रु एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ ।’ दुई सन्तानकी आमा ऋचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी हुन् । ऋचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन् ।

स्रोत : रासस
प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १६:३५

लोकप्रिय