सूचनाको शक्ति - The Power Of Information

        

खसीबोकाको कारोबार शुरु, खाद्यले पनि बिक्री थाल्दै

दशैँ शुरु भएसँगै खसीबोका र च्याङ्ग्राको कारोबार शुरु भएको छ । व्यापारीले गाउँठाउँबाट खसीबोका खरिद गरेर सहरबजारमा ल्याउन थालेका छन् भने व्यावसायिक खसीबोका पाल्ने किसानले बिक्री थालेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको जनाएको छ । कम्पनीले यस वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा काठमाण्डौ ल्याएर बेच्ने तयारी गरेको छ ।

आजैदेखि खसीबोका र च्याङ्ग्रा बिक्री थाल्ने कम्पनीले जनाएको छ । कम्पनीले सहुलियत दरमा बेच्ने खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गर्न भने बाँकी छ ।

काठमाण्डौ ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने तयारी छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान शुरु गरेको हो । काठमाण्डौ विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको छ ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । पशु चिकित्सकले दशैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।

दशैँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना भएकाले परीक्षणमा कडाइ गरिएको विभागले जनाएको छ । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न पनि विभागले सुझाव दिएको छ ।

यस्तै, दशैँको अवसर पारेर पोखरा महानगरपालिकाको आयोजनामा भोलि तेस्रो खसीबोका प्रदर्शनी हुने भएको छ । बाख्रापालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाले जनाएको छ । प्रदर्शनीमा किसानले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेलाई पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको व्यवस्था पनि गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ०७:४८

लोकप्रिय