सार्वजनिक सवारी साधनमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्न डरमर्दो भएको छ । सार्वजनिक यातायातमा कहिले कसको त कहिले कसको सामान चोरी भइरहेको हुन्छन । कार्यालय समय र बेलुका पाकेटमारहरुको पाकेट मार्ने गर्दछन् । भीडभाड भएको मौका छोपेर उनीहरुले चोरी गर्छन् । त्यस्तै, दशैंको आगमनसँगै चोरीका घटना पनि बढ्न थालेका छन् । दशैं लागेसँगै किनमेल जानेको चहलपहल बढेको छ । बाटोमा हिँडेकै अवस्थामा समेत चोरी भइसकेको हुन्छ । उभिएकै ठाउँमा पनि कतिखेर पाकेट मारिसक्छन्, थाहा नै हुँदैन ।
बजारमा पनि व्यापक पाकेटमारका घटना घटिरहेका छन् । कसैले तलब थापेर ल्याएका हुन्छन्, त्यो चोरी गरिदिन्छन् । कोही ऋणधन गरेर घर जानका लागि खर्च तयार पार्छन्, त्यो पनि चोरी भइहाल्छ । जहाँ पनि पाकेटमार छन् । सर्वसाधारणलाई दशैं मान्न घर जान हतारो छ । भनिन्छ नि, ‘हतारको काम लतरपतर ।’ उमगंका साथ घर जान आटेका हुन्छन्, चोरले पाकेट मारिँदा तनाव हुन्छ । अहिले मात्र होइन्, विगतदेखि नै चाडबाडमा चोरीको घटना बढ्छन् । दिनदहाडै चोरी हुन्छ । जताततै भीड हुने भएकाले चोरलाई चोर्न सहज हुने गरेको छ । जसका कारण बाटो हिँड्दा, बसमा यात्रा गर्दासमेत असुरक्षित महसुश हुने गरेको छ ।
कतिबेला कहाँ लुटिने हो ? भन्न सकिँदैन । यता, दिँउसै घर फुटाएर चोरेको घटनाहरु पनि बाहिरिन्छन् । सर्वसाधारणले असावधानी नअप्नाउने भएकाले पनि चोरी हुने गरेको छ । घर जाने खुसीमा उनीहरु सबै कुरा बिर्सिन्छन् । दशैं मान्न भनेर झोला बोक्छन् अनि दौडिन्छन् । घरको झ्याल ढोकामा थुनेको छ कि छैन भन्ने पनि थाहा हुँदैन । घर जान लागेको भनेर घरबेटीलाई समेत जानकारी गराउँदैनन् । नेपाल प्रहरीले बारम्बार घर जानुअघि घरबेटी, छिमेकी वा प्रहरी कार्यालयमा जानकारी गराउन सुसूचित गराउँदै आएको छ । तर, त्यसरी जानकारी गराएर हिँड्नेको संख्या न्यून छ ।
विगतभन्दा अहिले धेरै चोरीका घटना बढिरहेका छन् । चोरीका घटना बढ्नुका धेरै कारण छन् । पहिलो त बढ्दो बेरोजगारी नै हो । रोजगारी छैन । भएकाहरु पनि मुलुकमा आर्थिक मन्दी देखिएसँगै बेरोजगार भएका छन् । दशैं सबैको चाड हो । वर्षदिनमा आउने चाडमा सबैलाई राम्रै खाऊँ, राम्रै लाऊँ भन्ने हुन्छ । तर, कहाँबाट ल्याउने ? आम्दानीको स्रोत छैन । अनि उनीहरुले चोरी गर्छन् । पछिल्लो केही समययता घरघरमा काम खोज्दै आउनेहरुको संख्यामा पनि वृद्धि भएको छ । काम त पाइएन, कसैबाट सरसापटी लिऊँभन्दा पनि पाइँदैन । सहयोगी हातहरु हुने हो भने कसैले चोरी त गर्दैन्थें ।
खान नपाएपछि मान्छे चोरीमा संलग्न हुन्छ । आज चोर्छ, भोलि चोर्छ, उसलाई त्यसकै लत लाग्छ । तर, सबैले साथ सहयोग गर्ने हो भने चोरीका घटनामा कमी आउन सक्छ । घरधनी, छरछिमेक, आफन्तको यसमा ठूलो भूमिका छैन । आम्दानी नभएकाले सहयोग गर्नुपर्छ । भोलि उसले जहिले सक्छ, त्यैलैं तिर्छ । मान्छेले सबैभन्दा थेग्न नसक्ने भोक हो । भोक लागेपछि हात फैलाइन्छ । भोक लाग्दा कसैले खान दियो भने उसले चोर्दैन । भोक सहनै नसक्ने भएपछि अनि उसले चोर्छ । चोरेर खानु कसैको रहर होइन । आम्दानी हुने, व्यापार व्यवसाय हुनेले त चोर्दैनन् । जनसंख्या बढेको बढ्यै छ । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो ।
नागरिकको संख्या बढिरहेको छ, तर सरकारले रोजगारीको सुनिश्चितता गर्न सकेको छैन । सरसापटी पाउनेहरु कामका लागि खाडी छिरिरहेका छन् । बलले सक्नेहरु धमाधम विदेशिरहेका छन् । केही समय अघिसम्म मजदुरीको काम पनि पाइन्थ्यो । ईंट्टा बोक्ने, वालुवा चाल्ने, रंगरोगन गर्नेहरुले राम्रै आम्दानी गरिरहेका थिए । अहिले त्यो पनि पाइँदैन् । मन्दीले गर्दा घर बनाउने छाडिएपछि मजदुरी गर्नेहरु मर्कामा परेका छन् । घरायसी काम गर्नेहरुलाई समेत भटाभटी कामबाट निकालिएको छ । होटल, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्था, संघसंस्था र पसलमा काम गर्नेबाट पनि रोजगारी खोसिएको छ ।
सर्वसाधारणको चुल्हो निभ्न लागिसकेको छ । एकातिर काम छैन्, अर्कोतिर मँहगी बढेको बढ्यै छ । अनि कहाँबाट ल्याएर छाक टार्नु ? काम पाउँदा उनीहरुलाई त्यति समस्या हुँदैन । व्यापार व्यवसाय सुकेपछि व्यापारीहरु पनि मर्कामा परेका छन् । दिनभर बोनी गर्न पनि समस्या परेको व्यापारीहरुको गुनासो छ । व्यापार नहुँदा पेशाबाटै हात धुनुपर्ने अवस्था आएको गुनासो उनीहरुले गरिरहेका छन् । यहाँ बस्नै नसक्ने भएपछि धेरै आफ्नो गाउँठाउँ फर्किसकेका छन् । कोठाभाडा तिर्न, बिहानबेलुका छाक टार्न र छोराछोरी पढाउनै नसक्ने स्थिति सिर्जना भएपछि उनीहरु गाउँ फर्किएका छन् । अधिकांश ठाउँमा टुलेटको पोस्टर टाँसेको देखिन्छ ।
यो संख्या दशैंपछाडि झनै बढ्ने अनुमान लगाइएको छ । देशको अर्थतन्त्र डामाडोल छ । सबैको व्यापार व्यवसाय ठप्प बनेको छ । जसले मुलुकमा चोरी, ठगी, डकैतीको आतंक ल्याउने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कुनै मतलब नै छैन । रोजगारीको सिर्जना कसरी गर्ने ? जनताको पेट कसरी भर्ने ? डामाडोल बनेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने ? उनीसँग यसको उत्तर नै छैन् । सर्वसाधारणले कर तिर्न छाडेका छन् । बिहान बेलुका खानलाई छैन्, केको कर तिर्नु ? सरकारले निकै न्यून राजश्व उठाइरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई बजारको अवस्था के छ ? थाहा छैन ।
उनले कहिले सडकमा आएर जनताको अवस्था बुझेका छन् ? न उनले सञ्चारकर्मी र उद्योग व्यवसायीले बोलेका कुरालाई मनन गर्छन् । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । यहाँ सरकारी जागिर खानेको संख्या कति नै छ र ? व्यक्तिहरुले आफ्नै लगानीमा व्यवसाय गरेका छन् । राज्यलाई राजश्व तिरेका छन्, रोजगारी पनि दिएका छन् । तर, ती व्यवसायी डुबेसँगै धेरै बेरोजगार भए । लगानीकर्ता डुब्नु भनेको उसलाई मात्र घाटा हुनु होइन । उसको व्यवसाय डुब्नेबित्तिकै उसबाट रोजगारी पाइरहेका बेरोजगार हुन्छन् । राज्यले राजश्व पाउँदैन ।
उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र ध्वस्त भइसकेको घोषणा गरेका छन् । विडम्बना, सरकार आँखा चिम्लेर र कानमा तेल हालेर बसेको छ । रोजगारीको सुनिश्चित गर्नु राज्यको दायित्व हो । जनताले रोजगारी देऊ भनिरहेका छन् । सबैले रोजगारी पाउने हो भने कसले चोर्छ ? सरकारी कर्मचारीलाई मात्रै भोक लाग्छ, मँहगी पनि उनीहरुलाई मात्र बढ्छजस्तो गर्छ, सरकार । जनताको विषयमा सोच्न राज्य सञ्चालकहरुसँग समय नै छैन । जनता खान नपाएर भोकभोकै तड्पिएका छन् । सरकारलाई कुनै फरक परेको होइन । जनताको विषयमा सरकार नै गम्भीर छैन अनि आपराधिक घटना बढ्नु त स्वाभाविकै हो ।
यता, गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि जनताप्रति जिम्मेवार भएको देखिदैन । गृहमन्त्री श्रेष्ठले आपराधिक क्रियाकलाप रोक्न कुनै योजना अघि सारेका छैनन् । न मुलुकभरका जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई सुरक्षा कडाइका लागि परिपत्र गरेका छन् । बैंक तथा वित्तिय संस्थाबाट पैसा निकाल्दा उनीहरु चनाखो हुँदैनन् । चाडवाडमा चोरहरु बैंक तथा वित्तिय संस्थाबाहिर ढुकेर बस्छन् । अहिले पनि गहना लगाएर देखाउने क्रम जारी नै छ । सरकारले घरैपिच्छे सुरक्षा दिन सक्दैन । नागरिक आफैं सचेत हुनुपर्छ । जबसम्म नागरिक जिम्मेवार हुँदैनन्, तबसम्म यस्ता घटना घट्छन् । दशैं कसैको लागि दशा नबनोस् । दशैं मनाउने नाममा कसैको सम्पत्ति नगुमोस् । यसमा सरकार र सर्वसाधारण नै सचेत बनुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
अनुसा थापा । भक्तपुर