सूचनाको शक्ति - The Power Of Information

        

मिर्मिरेको एफपीओ आजदेखि भर्न सकिने

मिर्मिरे लघुवित्तको बिहीबारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला भएको छ । लघुवित्तले आज असोज २५ गतेदेखि १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

इक्रा नेपालले २०८० जेठ १७ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ १६ गतेसम्म बाहल रहनेछ । राष्ट्रिस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको ७७ वटै जिल्लामा शाखा कार्यालयहरु रहेका छन् । २०८० साउन मसान्तसम्म यस संस्थाको केन्द्रीय कार्यालय सहित ७ ओटा प्रादेशिक कार्यालय, ५ वटा उप-प्रादेशिक कार्यालय सहित १५० वटा शाखा कार्यालयहरु रहेका छन् ।

विगत ५ वर्षको लाभांशलाई हेर्दा यस कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिएको देखिन्छ । ५ वर्षको अवधिमा हेर्दा २ आर्थिक वर्षमा यसले हकप्रद सेयर निष्कासन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ः०.५ अनुपातमा र आर्थिक वर्ष २०७५/७६ मा १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । मिर्मिरे लघुवित्तको अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ६५ लाख ३३ हजार रुपैयाँ छ ।

एफपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ नै पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०% र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३०% रहनेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्तिमसम्म ७३ करोड ११ लाख २ हजार रुपैयाँ चुक्ता पुँजी पुग्ने प्रक्षेपण गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ सम्म ९६ करोड ६८ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ६ करोड २९ लाख २५ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८१/८२ मा १० करोड २५ लाख २४ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६१ पैसा र आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ६० पैसा हुने प्रक्षेपण छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:३३

लोकप्रिय