सूचनाको शक्ति - The Power Of Information

        

जिराको मूल्य आकासियो

एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।

जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच/छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ ।

थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताउनुभयो । “भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उहाँले भन्नुभयो, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”

जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उहाँको भनाइ छ ।

स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ ।

गत आव २०७९/८० मा दुई अर्ब २० करोड ५० लाख रुपियाँ बराबरको जिरा आयात भएको थियो । अघिल्लो आव २०७८/७९ मा दुई अर्ब ७८ करोड ५१ हजार रुपियाँ बराबरको जिरा आयात भएको केन्द्रको तथ्याङ्क छ ।

यस्तै आव २०७७/७८ मा दुई अर्ब ४५ करोड ८९ लाख ९८ हजार रुपियाँ बराबरको जिरा आयात भएको थियो । यस्तै आव २०७६/७७ मा दुई अर्ब २६ करोड ६८ लाख २२ हजार रुपियाँ बराबरको जिरा आयात भएको केन्द्रको तथ्याङ्क छ । आव २०७५/७६ मा एक अर्ब ८९ करोड ६६ हजार रुपियाँ बराबरको आयात भएको थियो । बजारमा खपत बढेसँगै जिराको आयात बर्सेनि बढ्दै गएको छ ।

जिरा उत्पादनमा भारत पहिलो नम्बरमा आउँछ । विश्वभर उत्पादन हुने कुल जिराको बजारमध्ये ७० प्रतिशतभन्दा बढी भारतमा उत्पादन हुन्छ । दोस्रोमा सिरियामा १३ प्रतिशत, टर्कीमा पाँच, युएईमा तीन, इरानमा दुई र अन्य मुलुकमा सात प्रतिशतको हाराहारीमा जिराको उत्पादन हुँदै आएको बताइएको छ । भारतमा उत्पादन हुने जिराले विश्वभरका प्रमुख बजार पाउँदै आएको छ ।

भारतको जिरा चीन, सिङ्गापुर, बङ्गलादेश, अफगानिस्तान, साउदी अरब, नेपाल, अमेरिका, बेलायत, दक्षिण अफ्रिकासहित युरोपियन मुलुकका बजार पुग्ने गरेको छ । भारत, कतार, टर्की, बेल्जियमबाट नेपालमा जिरा आयात हुने गर्छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०७:१४

लोकप्रिय