सूचनाको शक्ति - The Power Of Information

        

जिराको मूल्य तेब्बरले बढ्यो, प्रतिकेजी १४०० रुपैयाँ !

एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा ८०० रुपैयाँले बढेर हाल बजारमा १२५० रुपैयाँदेखि १४०० रुपैयाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ ।

भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । ५–६ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए ।

‘भारत वा विश्व बजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,’ उनले भने, ‘नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”

जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ । स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ ।

भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्व बजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ ।

गत आव २०७९–०८० मा दुई अर्ब २० करोड ५० लाख रुपैयाँ बराबरको जिरा आयात भएको थियो । अघिल्लो आव २०७८–०७९ मा दुई अर्ब ७८ करोड ५१ हजार रुपैयाँ बराबरको जिरा आयात भएको केन्द्रको तथ्याङ्क छ । यस्तै आव २०७७–०७८ मा दुई अर्ब ४५ करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको जिरा आयात भएको थियो ।

यस्तै आव २०७६–०७७ मा दुई अर्ब २६ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको जिरा आयात भएको केन्द्रको तथ्याङ्क छ । आव २०७५–०७६ मा एक अर्ब ८९ करोड ६६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । बजारमा खपत बढेसँगै जिराको आयात बर्सेनि बढ्दै गएको छ । जिरा उत्पादनमा भारत पहिलो नम्बरमा आउँछ । विश्वभर उत्पादन हुने कुल जिराको बजारमध्ये ७० प्रतिशतभन्दा बढी भारतमा उत्पादन हुन्छ ।

दोस्रोमा सिरियामा १३ प्रतिशत, टर्कीमा पाँच, युएईमा तीन, इरानमा दुई र अन्य मुलुकमा सात प्रतिशतको हाराहारीमा जिराको उत्पादन हुँदै आएको बताइएको छ । भारतमा उत्पादन हुने जिराले विश्वभरका प्रमुख बजार पाउँदै आएको छ । भारतको जिरा चीन, सिङ्गापुर, बङ्गलादेश, अफगानिस्तान, साउदी अरब, नेपाल, अमेरिका, बेलायत, दक्षिण अफ्रिकासहित युरोपियन मुलुकका बजार पुग्ने गरेको छ । भारत, कतार, टर्की, बेल्जियमबाट नेपालमा जिरा आयात हुने गर्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०६:५८

लोकप्रिय