सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो । आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो र सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम टु को शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतवार १७:१८

लोकप्रिय