सूचनाको शक्ति - The Power Of Information

        

सरकार नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने अभियानमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्ग फराकिलो बनाउँदै लगेको बताएका छन् ।

उनले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माण र यसको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियान शुरु गरेको जनाएका छन् । ‘प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो,’ उनको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले १० वर्षे युद्ध, २०६२-०६३ को जनआन्दोलन लगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको सम्झना गरे । ‘आफैँबाट निर्वाचित प्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको छ,’ उनले भनेका छन्, ‘संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ ।’

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, कानूनी राज्य, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकाजस्ता लोकतन्त्रका अवयवको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:२०

लोकप्रिय