सूचनाको शक्ति - The Power Of Information

        

तीजको ‘भाइरल नृत्य’ले बदनाम एमाले !

कर्णालीको भनिएको तीज गीत नृत्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आइतबार सार्वजनिक करिब २५ सेकेन्डको उक्त भिडियोमा एकजना युवतीले तीजभन्दा पनि अलि फरक शैलीमा नृत्य प्रस्तुत गरेकी छन् ।

उक्त भिडियोको आधा भागमा सूर्य चिन्ह देखिएको छ भने ब्यानरमा ‘कर्णाली प्रदेशस्तरीय भेला तथा तीज विशेष खुल्ला प्रतियोगिता–२०८०’ लेखिएको छ । यद्यपि आयोजक को हो ? र, स्थान कहाँ भन्ने कुरा प्रस्ट देखिएको छैन । उक्त भिडियो एमाले कर्णाली प्रदेशको आयोजनामा गरिएको भनेर प्रचार गरिएको छ । उक्त नृत्य ‘अश्लील’ भनेर सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको छ ।

कम्युनिस्टहरू आफूलाई असल संस्कृतिको पक्षमा उभ्याउने तर कम्युनिस्टकै कार्यक्रममा अपाच्य नृत्य प्रस्तुत गरिएको भन्दै एमाले र त्यसमा पनि कर्णाली जस्तो प्रदेशमा यस्तो नृत्य पाच्य नहुने तर्क गरिरहेका छन् । पूर्वसचिव भीम उपाध्यायले भिडियो शेयर गर्दै लेखेका छन्, ‘पार्टीमा आकर्षण बढाउने जुक्ति, डान्स कार्यक्रममार्फत ।’ उपाध्यायले शेयर गरेपछि भिडियो अझ भाइरल भएको छ । यस्तै, डा. कल्याण सुवेदीले ‘क्रान्तिकारी नाच’ भन्दै व्यङ्ग्य गरेका छन् ।

जनवादी गायक मोहिन श्रेष्ठले त कडा रूपमा प्रस्तुत हुँदै लेखेका छन्, ‘आजकलका कम्युनिस्टहरूले मन पराउने डानस..! यस्ता रोगी डानस माओवादीमा पनि सरेको छ । गम्भीर भएर सोच्नुहोला, माओवादी क्रान्तिकारी महिलाहरू तीजको नाम पारेर ओम् नम शिवायमा डानस हान्नु र एमालेको घोप्टे डानसको सार पक्ष एउटै हो । त्यसैले, कसैले कम्युनिस्टको ढोंग नपिटेको राम्रो ।’

अझ कर्णालीका सामाजिक सञ्जाल प्रयोगकर्ताले एमाले पार्टी र कर्णालीको संस्कृतिलाई जोडेर आलोचना गरिरहेका छन् । यद्यपि यो नृत्य कर्णाली प्रदेशमा गरिएको नभई काठमाडौँमा आयोजित कार्यक्रमको हो । कर्णाली–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथी थिइन् एमाले नेतृ डा.शिवमाया तुम्बाहाम्फे । उनका अनुसार कार्यक्रममा ३० वटा नृत्य टिमको प्रतिस्पर्धा थियो ।

भाइरल भएको नृत्य प्रतियोगिता अन्तर्गत नै रहेको उनले बताइन् । सामाजिक सञ्जालमा आएपछि आफूले पनि हेरेको बताउँदै उनले भनिन्, ‘यस्तो थियो भने कार्यक्रममा पहिला नै हेरेर उपस्थित गराइनु पर्थ्यो । तर, प्रतिस्पर्धामा आए ।’ यसलाई स्वाभाविक रूपमा लिइनुपर्छ कि ? भन्ने प्रश्नमा उनले भनिन्, ‘हैन अहिलेको समयमा हाम्रा छोराछोरीहरूले नयाँ–नयाँ कुराहरू सिक्ने समयमा यस्ता नृत्यहरू प्रशस्त देखिएकै छन् ।

यद्यपि हामीले यस्तो कल्चरबाट छोराछोरीलाई जोगाउनुपर्छ, शिक्षा दिनुपर्छ । भिडियो हेरेपछि आपत्ति जनाइहाल्नुपर्ने स्थिति मैले देखिन ।’ उक्त प्रस्तुति हुने बेला भने आफू त्यहाँबाट बाहिरिएको पनि उनले बताइन् । तुम्बाहाम्फेले ‘एउटा नृत्यलाई लिएर कर्णालीको संस्कार, संस्कृतिमाथि अनि एमालेलाई हान्ने ?’ भन्दै प्रश्न गरिन् ।

अखिल नेपाल महिला संघ कर्णाली प्रदेशकी अध्यक्ष पद्मा खड्काले भनिन्, ‘कर्णालीको नाम बेचेर काठमाडौँमा बस्नेवालाले गरेको कार्यक्रम हो । यहाँ तीज विशेष भनेपछि पद्मा खड्काहरूले हो कि भनेर मलाई फोन गरेर हैरान पारिसके ।’ खड्काले उक्त नृत्य वर्तमान नेपाली समाजका लागि उचित नरहेको पनि बताइन् । काठमाडौँमा गरिएको कार्यक्रमले सिङ्गो कर्णालीको बेइज्जत भइरहेको उनको जिकिर छ ।

बाह्य प्रभावको उपज

संस्कृतिकर्मी प्रेमदेव गिरी यस्ता खालका घटनालाई बाह्य प्रभावको उपजका रूपमा लिन्छन् । उनी भन्छन्, ‘अहिले भेषभुषा, भाषा बिग्रिँदै गयो, साहित्य पनि बिग्रिँदै गइसकेपछिको प्रतिफल हो यो ।’ बाह्य प्रभावकै कारण भाइरल बनाउने होडबाजी नै चलिरहेको प्रति चिन्तित हुँदै उनी भन्छन्, ‘हाम्रो सामाजिक, सांस्कृतिक मूल्य मान्यतामाथि धावा बोल्ने काम भइरहेको छ । यस्तो खालको प्रवृत्ति विनाशको बाटो हो ।’

‘हरेक मान्छेलाई आफ्नो भौगोलिक, सांस्कृतिक ज्ञान हुन आवश्यक छ,’ उनी भन्छन्, ‘त्यो छैन । अहिले नेपालमा जे भइरहेको छ, त्यो सबै बाह्य प्रभाव हो ।’ कुनै पनि सामाजिक, सांस्कृतिक कार्यक्रम गर्दा आफ्नो संस्कार, परम्परा भन्दा बाहिर जान पाइँदैन भन्ने खालको सन्देश पु¥याउन जरुरी रहेको उनको भनाई छ ।

हेर्नुस् भिडियो :

भिडियो : टिकटकबाट

स्रोत : पंखबहादुर शाही । रातोपाटी
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १४:३६

लोकप्रिय