श्री नम्बर ४ बाहिनी अड्डा, राँझाका बाहिनीपति एवं सहायक रथी प्रकाश थापाले नेपाली सेनाको छविलाई उच्च राख्दै सैनिक मर्यादामा रही प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्न तालिमे सिपाहीहरूलाई निर्देशन दिएका छन् ।
बज्रदल गणमा सञ्चालित सि.सं. ३ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा बोल्दै सहायक रथी थापाले भने, ‘राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ट सिपाही हो । यस तथ्यलाई हरहमेशा मनन् गर्न अनुरोध गर्दछु ।’
सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरको तालिमहरू प्रदान गर्दै आइरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले प्रदर्शन गरेको उच्च कार्य कौशलता र व्यवसायिक छवि यसका ज्वलन्त उदाहरण भएको स्मरण गराउँदै सहायक रथी थापाले आगामी दिनमा यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
सहायक रथी थापाले भने, ‘यस आधारभूत तालिम सैनिक जीवनको सुरुवात मात्रै हो । आगामी दिनमा विभिन्न सैनिक पेशागत तालिमले अझै माझ्दै, निखार्दै र तिखार्दै लैजानेछ । भोलिको सेनाको सुनौलो भविष्यको लागि उच्च मनोबल र जोश जाँगरसहित अन्य वृत्ति विकास तथा पेशागत तालिमहरू गर्दै गएर आत्मविश्वासी र पेशा एवं राष्ट्रप्रति थप कटिबद्ध बनाउनेछ ।’
बज्रदल, गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, सि.सं. ३ सैन्य आधार तालिममा ९५ जना सहभागी थिए । २०७९ मंसिर १ गतेदेखि शुरु भएको तालिममा लुम्बिनी प्रदेशका १८ जना, कर्णाली प्रदेशका २७ जना र सुदूरपश्चिम प्रदेशका ५० जना थिए ।
तालिममा कपिलवस्तुका लक्ष्मण राहादी सर्वोत्कृष्ट भएका छन् । ५ किलोमिटरमा निरज खाती, बाधा पारमा कमल भण्डारा, फायरिङमा रवि साउद, क्रस कन्ट्रीमा चक्रसिंह पुवाली, अनुशासनमा रितेश चन्द र आइरनमेनमा सुरेश जप्रेल प्रथम हुँदै पुरस्कार पाएका छन् । उनीहरूलाई सहायक रथी थापाले पुरस्कृत गरे ।
कवाज प्रमुख सेनानी शिव थापाको नेतृत्वमा तालिमेले कवाज प्रदर्शन गरेका थिए। अन्तिम दलेल कवाज समारोहमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीलगायत जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके