सूचनाको शक्ति - The Power Of Information

        

ढुंगा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८, विजयपुरनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

उक्त ढुंगा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनले भने, ‘ठूलो ढुंगा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।’

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशशरचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ ।

गएराति खसेका चार वटा रुखका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताए । राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्री अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:३९

लोकप्रिय