सूचनाको शक्ति - The Power Of Information

        

कारबाहीको प्रक्रियामा व्यापारी

सरकारको राजस्व लक्ष्यभन्दा कम उठी आर्थिक उथलपुथल भइरहेका बेला व्यापारीले भने सरकारको कानूनी छिद्र समाती लाभ लिई व्यापक रूपमा राजस्व छली गर्ने क्रम बढेको पाइएको छ ।

आन्तरिक राजस्व विभागले यसै वर्षमात्र १ हजार ९ सय ८६ भन्दा बढी व्यापारिक फर्म तथा करदातालाई कारबाही गरी ९ अर्ब ९३ करोड रकम उठाउने प्रक्रिया थालेको हो । सो रकम व्यापारीहरूले छली गरेका थिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले गलत सोच भएका व्यापारीले गाउँका सोझा नागरिकलाई प्रयोग गरी कम्पनी दर्ता, बैंक खाता खोलेर नक्कली बिल छापी कारोबार गरेको देखाई राजस्व छली गरेको बताउनुभयो । त्यसरी छली गरिएको राजस्व असुलउपर गर्न थालिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।

सरकारले लामो समय देखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लिँदै आएको छ । त्यही भ्याट आयातकर्ता, डिलर र बिक्रेताले भ्याटबापतको रकम सरकारसँग फिर्ता लिने वा तिर्नुपर्ने भ्याटबाट घटाउने गर्छन् ।

केही व्यापारीले भने कानूनका त्यही व्यवस्थाको कमजोर पक्ष समाती भ्याट बिललाई बिक्री गरी अवैधानिक रूपमा सरकारसँग त्यसबापतको रकम लिने गरेको निर्देशक मैनालीले बताउनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १७ भाद्र २०८०, आइतवार ०७:०८

लोकप्रिय