सूचनाको शक्ति - The Power Of Information

        

‘कबड्डी ४’ ओटीटीमा पनि आक्रामक

हल रिलिजमा सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट ‘सिनेमा घर’ एपमार्फत् डिजिटल प्रमियर भएको छ । हलमा हप्तौंसम्म एकछत्र राज गरेको यो फिल्म ओटीटीमा पनि आक्रामक देखिएको छ । डिजिटल प्रिमियर भएको पहिलो दिनमै फिल्मले एपमा ऐतिहासिक व्यापार गरेको ‘सिनेमा घर’का संस्थापक सागर खरेलले जानकारी दिए ।

सञ्चालक खरेलले भने, ‘हिजो केही समय त हामीलाई दर्शकको चाप नै थाम्न मुश्किल भएको थियो । एकसाथ हजारौं दर्शकहरुले फिल्म हेर्दा हाम्रो सर्भरमा समस्या उत्पन्न हुन पुगेको थियो । अपेक्षा गरेभन्दा धेरै दर्शकहरुले एप एकसाथ प्रयोग गरेपछि सर्भर डाउन हुनबाट बचाउन हामीलाई हम्मेहम्मे नै पर्यो । त्यसपछि सर्भर अपग्रेड गरेर लाखौँ दर्शकले एकैपटक हेर्न सक्ने बनायौँ ।’

सिनेमाघर एपमा विज्ञापनरहित सशुल्क र विज्ञापन हेरेर सिनेक्वाइन जम्मा गरि ‘कबड्डी ४’ निःशुल्क हेर्न पाइने सञ्चालक खरेलको भनाई छ । सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’ को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षणमा व्यापकता आएको बताएका छन् । पहिलो दिन देखिएको दर्शकको चापले ‘सिनेमा घर’मा फिल्मले ठूलो कमाई गर्नेमा लामिछाने विश्वस्त छन् ।

सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध छ भने क्रोमकास्ट प्रविधिको प्रयोग गरि विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न मिल्ने सुविधा छ । २०१६ देखि ‘सिनेमा घर’ एप सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १३:५२