सूचनाको शक्ति - The Power Of Information

        

‘जारी’ चल्दा ६ फिल्म फ्लप

२९ गते रिलिज हुन लागेको फिल्म ‘हल्कारा’सम्म आइपुग्दा वैशाख महिनामा आठ वटा फिल्म दर्शकमाझ आएका छन् । यो बर्षको सुरुवात नेपाली फिल्मका लागि ब्लकबस्टर नै रह्यो । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘जारी’ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्यो ।

फिल्म अहिले पनि हलमा चलिरहेको छ र दर्शकको राम्रो साथ पाइरहेको छ । तर, ‘जारी’ले बक्स अफिसमा १६ करोड माथिको व्यापार गरिसक्दा त्यसपछि रिलिज भएका फिल्मको ग्रस कलेक्शन १ करोड पनि हुन सकेको छैन । ‘जारी’सँगै हलमा रिलिज भएका ‘बिहे पास र बुलाकी’ बक्स अफिसमा कमजोर साबित भए ।

‘बिहे पास’ले पहिलो दिनमा राम्रो व्यापार गरेपनि वैशाख २ गतेबाट दम तोड्यो । ‘बुलाकी’ले गतिलो शोज पाउन सकेन । निर्माताले फिल्म रिलिज भएको चार दिनमै शोज नपाएको भन्दै हलबाट फिल्म उतारे ।

वैशाखको ८ गते बलिउड नायक सलमान खानको फिल्म ‘किसी का भाई किसी का जान’ रिलिज हुने भएपछि कुनै पनि नेपाली निर्माताले फिल्म रिलिज गर्ने हिम्मत नै गरेनन् । वैशाखको १५ गते ३ फिल्म रिलिज भए । यो मितिमा ‘नाई नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्र’ नामक फिल्म रिलिज भए ।

तिन फिल्ममा ‘प्रसाद २’को व्यापार माथि रहे पनि सुखद रहन सकेन । फिल्मले अझै १ करोड ग्रस कलेक्शन पनि गर्न सकेको छैन । ‘नाई नभन्नु ल ६’ले त पहिलो सातामै दम तोड्यो । ‘कैदीको पत्र’ त हलमा लागेको र नलागेको पनि दर्शकले थाहा पाएनन् । यसरी हेर्दा, तिन फिल्मको व्यापारले फिल्म क्षेत्रलाई छक्क बनाइदियो ।

वैशाखको २१ गतेबाट अर्को प्रतिक्षित फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भयो । रिनाशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्मले रिलिजको एक सातासम्म आइपुग्दा सुखद कमाई गरेको छैन । यो कुरा स्वयंम निर्देशकले पनि स्विकार गरिसकेको अवस्था हो ।

बरु, रिनाशा र उनको टिम आउँदो दिनमा फिल्मले राम्रो व्यापार गर्न सक्नेमा आशावादी देखिएका छन् । यसरी हेर्दा, यो महिना ‘जारी’ले बम्पर व्यापार गर्दा ‘बिहे पास, बुलाकी, कैदीको पत्र, नाई नभन्नु ल ६, प्रसाद २ र आई एम ट्वान्टी वान’ असफल भएका छन् ।

अब, २९ गतेबाट रिलिज भएको फिल्म ‘हल्कारा’को व्यापार कस्तो हुन्छ त्यो हेर्न बाँकी छ । तर, बैशाख महिनाले फिल्म क्षेत्रलाई एउटा ठूलो पाठ भने सिकाएको छ । त्यो के भने, एउटै साता ठूलो फिल्म रिलिज गर्न हुँदैन भन्ने त छदै छ, एउटै महिना पनि धेरै फिल्म रिलिज गर्नु फलदायी नहुने देखिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १६:०३