सूचनाको शक्ति - The Power Of Information

        

‘छक्का पन्जा ४’को व्यापारलाई ‘जारी’को टक्कर

शुक्रबारबाट चौथो हप्तामा प्रवेश गरेको फिल्म ‘जारी’ले बक्स अफिसमा सबैलाई अचम्मित बनाइदिएको छ । चौथो हप्तामा पनि फिल्मलाई लिएर दर्शकहरुको आकर्षण घटेको छैन । यो फिल्मले बक्स अफिसमा १६ करोड माथिको ग्रस कलेक्शन गरेको विकास बोर्डको आँकडामा उल्लेख छ ।

यो आँकडा फिल्म अझै केही सातासम्म हलमा रहँदा बढ्ने निश्चित छ । फिल्मले गतबर्ष रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’को बक्स अफिस व्यापारलाई चुनौती दिइरहेको छ । हिट फिल्मको ब्रान्ड भएकाले पनि दर्शकले ‘छक्का पन्जा ४’लाई रुचाएका थिए । यो फिल्मले बक्स अफिसमा १७ करोड आसपासको व्यापार गरेको थियो ।

‘जारी’को लाइफ टाइम कलेक्शनले ‘छक्का पन्जा ४’को व्यापारिक आँकडालाई उछिन्न सक्ने आँकलन गरिएको छ । यसरी हेर्दा, नेपाली फिल्मको सर्वाधिक कलेक्शनको सूचीमा पहिलो नम्बरमा ‘कबड्डी ४’ र दोस्रो नम्बरमा ‘जारी’ले कब्जा गर्ने देखिएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारको अभिनय छ ।

वैशाख १ गते नै रिलिज भएका ‘बिहे पास र बुलाकी’, वैशाख ८ गते रिलिज भएको फिल्म ‘किसि का भाइ किसि का जान’, वैशाख १५ मा रिलिज भएका ‘प्रसाद २, नाई नभन्नु ल ६, कैदीको पत्र’ र वैशाख २१ गतेबाट रिलिज भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले पनि ‘जारी’लाई खास असर गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १४:२३