सूचनाको शक्ति - The Power Of Information

        

तीन सातामै ‘छक्का पञ्जा ४’ले कमायो १८ करोड

फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए ।

फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको राठी बताउँछन् । ‘नेपालभरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन गरिसकेको छ । चौंथो सातामा लाग्दा पनि फिल्मलाई दर्शकको साथ छ,’ उनले भने ।

राम्रो व्यापार गरेता पनि ‘छक्का पञ्जा ४’ को कलेक्सन ‘कबड्डी ४’को भन्दा कम छ । यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले ३० करोड कमाएको थियो । यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो । हेमराज बिसीको निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ ।

यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ । आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक–दीपा हुन् । फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:२१