सूचनाको शक्ति - The Power Of Information

        

बक्स अफिसमा दया र मिरुनाको ‘ह्याट्रिक’ दाउ

नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा चर्चित बनेको छ । ‘कबड्डी ४’मा पर्दा सेयर गरेपछि दया र मिरुनाको जोडीलाई दर्शकले खुबै रुचाए । यो फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार समेत गर्यो ।

फिल्मले बम्पर कमाई गरेपछि उत्साहित बनेका दया र मिरुना फिल्म ‘जारी’मा पनि एकैसाथ देखिए । यो फिल्म त यी दुईको प्रेम कथाको वरिपरी नै घुमेको छ । फिल्म हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् ।

फिल्मभित्र दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ । फिल्म ‘जारी’ वैशाख १ गतेबाट रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा निर्मातालाई राम्रै रकम नाफा दिइसकेको छ ।

फिल्मको लाइफ टाइम कलेक्शन अहिले नै आँकलन गर्न सकिँदैन । तर, फिल्मले रिलिजको ४ दिनमा करिब ६ करोड आसपासको व्यापार गरेको छ । अब, यी दुईले नै अभिनय गरेको नयाँ फिल्म ‘नांगो गाउँ’ केही महिनामै रिलिज हुनेछ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, फिल्म ‘नांगो गाउँ’ पनि दया र मिरुनाको जोडीकै कथामा घुमेको छ । यसरी हेर्दा, दया र मिरुनाले काम गराइको हिसाबले त ह्याट्रिक गरिसकेका छन् ।

तर, बक्स अफिसमा पनि उनीहरू ह्याट्रिक गर्ने दाउमा छन् । केही दिनअघि फिल्म ‘जारी’ हेरेपछि समीक्षक सामिप्यराज तिमल्सिनाले दया र मिरुनाको जोडीलाई बलिउडका साहरूख खान र काजोलको जोडीसँग तुलना गरेका थिए । फिल्म क्षेत्रमा आगामी दिनमा दया र मिरुनाको जोडीको माग अझै बढ्ने निश्चित छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १०:०३