सूचनाको शक्ति - The Power Of Information

        

भारतमा चम्किएका फिल्म नेपालमा फ्लप

भारतीय बक्स अफिसमा ‘द केरला स्टोरी’ले २०० करोडभन्दा बढी कमाइसकेको छ । कतिपयले यो फिल्मलाई प्रोपोगन्डा पनि भन्ने गरेका छन् । तर, भारतीय दर्शकलाई यो कुराले खासै असर गरेको छैन । उनीहरूले यो फिल्मप्रति निकै माया देखाए । तर, भारतमा गजबको व्यापार गरेको यो फिल्मलाई नेपालका वितरकले पनि राम्रै पैसा कमाउने उद्देश्यले खरिद गरे ।

तर, भारतीय बजारमा चम्किएको यो फिल्मले नेपाली बक्स अफिसमा कुनै कमाल गर्न सकेन । यो देखेर फिल्म किनेका वितरक निराश छन् । बिहिबारदेखि साउथको फिल्म ‘२०१८’ नेपाली बक्स अफिसमा चलिरहेको छ । यो फिल्मले साउथमा मात्र १६० करोड भन्दा बढी व्यापार गर्यो । फिल्मलाई हिन्दी भाषामा डब गरियो ।

नेपाली वितरकले पनि उत्कृष्ट समीक्षा आएको भन्दै यो फिल्मलाई नेपाली बजारमा भित्र्याए । तर, यो फिल्म हेर्ने दर्शक पनि नेपालमा खासै भेटिएनन् । केरलामा सन् २०१८ मा गएको विनाशकारी बाढी पहिरोको कथामा यो फिल्म बनाइएको छ । फिल्मको कथा वस्तु र प्रस्तुति उत्कृष्ट भएपनि यसलाई नेपाली दर्शकले खासै रुची देखाएनन् । भारतमा चर्चामा आएका धेरै फिल्मले नेपाली बक्स अफिसमा कुनै कमाल गर्न सकिरहेका छैनन् ।

यसले, हिन्दी फिल्म ल्याएर नेपाली बजारबाट राम्रै कमाई गरिरहेका वितरकहरुलाई तनाव थपिदिएको छ । शुक्रबारदेखि रिलिज भएको विक्की कौशल र सारा अली खानको ‘जरा हट्के जरा बचके’ले पनि बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्मले तीन दिनमा २२ करोडको नेट कलेक्शन गर्दै बलिउड पण्डितहरुलाई नै अचम्मित बनाइदिएको छ । तर, यो फिल्मले नेपालमा दर्शक पाएन ।

नेपालमा यो फिल्म किनेका वितरकका लागि अर्को झट्का यसले दिएको छ । ‘पुष्पा, आरआरआर, केजीएफ २, पठान’ जस्ता फिल्मलाई छाड्ने हो भने भारतमा राम्रो कमाई गरेका हिन्दी फिल्महरुको व्यापार नेपालमा सुखद छैन । दर्शकले भारतमा निकै नै चर्चा पाएका स्टार कलाकारहरुको बाहेक अरु फिल्ममा मन बनाएका छैनन् ।

यतिसम्म कि, बलिउडका सुपरस्टार नायक सलमान खानको फिल्म ‘किसीका भाई किसीका जान’ले समेत नेपालमा कुनै कमाल गर्न सकेन । यसरी हेर्दा, विदेशी फिल्ममाथि लगानी गर्ने बिषयमा वितरकले नै अब धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ । हिन्दी फिल्म खरिद गर्दा बजेट बढ्नु तर हलमा दर्शक नआउनुले वितरकलाई भने गम्भिर हुनुपर्ने अवस्था श्रृजना गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १८:३३