सूचनाको शक्ति - The Power Of Information

        

‘जारी’ले १६ करोड कमाउँदा ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ घाटामा

वैशाख १ मा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को व्यापार जारी छ । चौथौ साता लाग्दा जारीले क्युएफएक्समा मात्रै १७ शो पाएको छ । पछिल्लो अपडेट अनुसार जारीले नेपालभरबाट १६ करोड रुपैयाँको व्यापार गरिसकेको वितरक फिल्मका मनोज राठीले बताए ।

गत साता रिलिज भएका फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को व्यापार भने कमजोर देखिएको छ । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्याङअनुसार एक सातामा प्रसाद २ ले ७० लाख कमाउँदा ‘नाईं नभन्नू ल ६’को ग्रस कलेक्सन २५ लाखमात्रै छ ।

चलचित्र विकास बोर्डका सदस्य रबि अधिकारीले दुबै फिल्मको बक्स अफिस कलेक्सनबारे पृष्टि गरे । यी दुबै फिल्म हिट फिल्मका सिरिज हुन् । जसकारण दुबै फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने आशा गरिएको थियो ।

तर, बक्स अफिस कलेक्सन हेर्दा दुबै फिल्मले लगानीसमेत उठाउन नसक्ने अवस्था छ । नाईं नभन्नू ल ६’ लाई पहिलो हप्ताबाटै प्रायः मल्टिप्लेक्स हलहरुले उतारिसकेका छन् । प्रसाद २ भने सीमित शो पाउँदै दोस्रो सातामा चलिरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:१९